तुल बहादुर कवँर मगर

देउखुरी । कच्ची मोटर बाटो छ, नियमित यातायातका साधनहरु चल्दैन। घण्टौ पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ । त्यस माथि गर्मीयाम शुरु भएको छ। पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ। बाटोको छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कतै छैन। यी र यस्तै समस्या तथा गुनासोहरु सुनाउदै हुनु हुन्थ्यो राप्ती गाउँपालिका वडा नम्बर ५ को विकट पहाडी गाउँ करङ्गेकोटका ६५ वर्षीय प्रेमलाल दर्लामी मगर । सोही समयमा एकाएक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट हातमा घन र हथौडा लिएर त्यहाँ पुग्नु भयो।
गाउँपालिका अध्यक्ष विष्टलाई एक्कासि त्यहाँ देख्दा उहाँ अचम्मित हुनु भयो। एक छिन पछि करङ्गेकोट टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीय बुद्धिजीवी ,समाजसेवी र अन्य व्यक्तिहरु पनि त्यहाँ आइपुगे । अनि चौतरी निर्माणको काम शुरु भयो।

यो कुनै काल्पनिक नभई यथार्थ घट्ना थियो। शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइ तथा करङ्गेकोट टोल विकास संस्थाको सक्रियतामा वडा नम्बर ५ सिसहनियाँ देखि सोही वडाकै विकट पहाडी गाउँ करङ्गेकोट जोड्ने बाटोमा जनश्रमदान गरि व्यबस्थित चौतारी निर्माण कार्यको शुरु गरिएको छ। बाटोमा हिड्ने पैदल यात्रीहरुका लागि सहज रुपमा थकान मेटाउने र वर्षै पहिले निर्माण भएका चौतारीहरुको संरक्षण गर्ने उदेश्यले जनश्रमदानबाट चौतारी निर्माण तथा संरक्षण गर्न लागिएको अध्यक्ष विष्टले जानकारी दिए। त्यस्तै उनले पछिल्लो समय युवाहरुमा सामाजिक सेवाको भावना हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दै युवा पुस्ताहरुमा त्यस प्रकारको भावना जागृत गराउ पनि आफू जनश्रमदानमा सहभागी भएको बताए ।

‘यस क्षेत्रका बालबालिकाहरू लाई उच्च शिक्षा हाँसिल गर्न टाढा जानू पर्ने बाध्यता छ। भरपर्दो मोटर बाटो छैन, खानेपानी ,बिजुली बत्ती ,स्वास्थ्य सेवाको पनि उत्तिकै समस्या छ। यी सम्पूर्ण समस्याको समाधान गर्नु राज्यको कर्तव्य पनि हो। त्यसको लागि मैले प्रदेश र संघ सरकार समक्ष विशेष पहल गर्ने छु’ अध्यक्ष विष्टले भने ।
त्यस्तै अध्यक्ष विष्टले आफ्नो पाँच वर्षे कार्यकालमा विकट बस्तीहरुको समस्या लाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै ग्रामीण क्षेत्रमा बसोबार गर्ने व्यक्तिहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताए । सो चौतरी निर्माण कार्यमा गाउँकार्यपालिका सदस्य रण बहादुर पुजाली, करङ्गकोट टोल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगर,समाजसेवी तथा जनता आधारभूत विद्यालय करङ्गेकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगर,प्रावि थकरीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश थापा मगर,बाल प्रगती प्रावि तल्लो घोसखोलाका प्राध्यनाधपक गोविन्द चौधरी ,समाजसेवी मनोज दर्लामी मगर ,सन्तराम सारु मगर,युवराज थापा मगर,तन बहादुर दर्लामी मगर,धन बहादुर थापा मगर लगायत स्थानीयबासीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया