देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले आइतवार भालुवाङमा पत्रकार सम्मेलन गरेर भालुवाङको प्रस्तावित नयाँ बसपार्कमा ‘पाँचौ राप्ती–लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक तथा पर्यटन महोत्सव २०७९’ सञ्चालन हुने जानकारी गराएको छ ।

‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । संयोजक खड्काले भने ‘राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यहि फागुन १९ गतेदेखि चैत्र १ गते सम्म भालुवाङमा महोत्सव सञ्चालन हुने छ ।’
करीब एक लाख दर्शकले महोत्सवको अवलोकन सहित ९ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।
महोत्सवबाट आम्दानी भएको रकमबाट उद्योग बाणिज्य संघको भवन निर्माण र फिल्ड मर्मत गरिनुको साथै श्री आर्दश नमुना मा विका पूर्व विद्यार्थीको विशेष पहलमा निर्माण भइरहेको दृष्टिविहिन छात्रावास निर्माणमा सहयोग प्रदान गरीने संयोजक खड्काले बताए ।
महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ । संघका सचिव भरतमणि न्यौपानेले राजधानी क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्र लाई अगाडी बढाउन महोत्सवको मुख्य भुमिका रहेन बताए । सचिव न्यौपानेले भने ‘यस क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान झल्काउने एउटा छुट्टै स्टल रहनेछ ।’
महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । साथै चर्के पिङ, बोटिङ, बाल उद्यान, मौतका कुवा लगायतका मनोरञ्जन रहनेछन् । महोत्सव अवधिभर विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने छ ।
महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ । त्यसैगरी तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरीएको संयोजक खड्काले जानकारी दिए ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय र तृतिय हुने झाँकीहरुलाई क्रमस १० हजार, ७ हजार र ५ पुरस्कार प्रदान गरीनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरीने छ ।
संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस जगत पोख्रेलको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बाबुराम थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, नारायणप्रसाद शर्माकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेमबहादुर केसीको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, कृष्णराज पौडेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, श्रीधर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, भरतमणी न्यौपानेकोे संयोजकत्वमा अनुगमन उपसमिति तथा स्टल र कृषि व्यवस्थापन उपसमिति, गोविन्द केसीको संयोजकत्वमा साँस्कृतिक झाँकी उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, मोहन श्रेष्ठको संयोजकत्वमा यातायात उपसमिति र तपराज आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।
पत्रकार सम्मेलनको सहजीकरण संघका सचिव भरतमणि न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया