दशरथ घिमिरे

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदैछन्। तर, नेपाली कांग्रेसले विश्वासकाे मत नदिनेगरी तयारी अघि बढाएकाे छ।
सभामुख र उपसभामुख चयनमा उदारता देखाएकाे कांग्रेस मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन भने तयार देखिँदैन्।
‘हामी बस्दै छाैँ। बैठकले यस बारेमा निर्णय गर्छ।’,कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीले भने,’संसदीय दलकाे बैठकबाट आधिकारीक धारणा बनाउछाैँ।’
कांग्रेस लुम्बिनी प्रदेशमा २७ सिटसहित दाेस्राे छ। २९ सिटसहित पहिलो दल रहेकाे एमालेले माओवादीलगायत ७ दल र २ स्वतन्त्र सांसदकाे समर्थनमा सरकारकाे नेतृत्वमा छ।
आज दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी छ। नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मत का लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा,लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सासदहरुकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको सुविधा जनक बहुमत देखिन्छ।

तपाईको प्रतिक्रिया