लुम्बिनी प्रदेशः सभामुखमा एक र उपसभामुखमा तीन जनाको उम्मेदवारी

दाङ – लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ। सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता गरियो। त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ।

 

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ। उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ। कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन।

कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ। प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन्।

सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ। ‘दुई वटा मन्त्रालयमा सहमति थियो। तर, हामीले भनेको जस्तो भएन, ‘ संसदीय दलका नेता चौधरीले भने, ‘हामीलाई माओवादी, एमाले, कांग्रेस सबैको समर्थन मिल्छ।’

तपाईको प्रतिक्रिया