लुम्बिनी प्रदेशः सभामुख र उपसभामुखमा लाग्यो उम्मेदवारको टुङ्गो

 

 

दाङ – लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता गठबन्धनबाट उम्मेदवारको टुङ्गो लागेको छ।

सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको थियो। उनीहरू दुवैले आफ्नो उम्मेदवारहरु तयार गरेका छन्।

भोलि माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा प्रदेश सभा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजीत थारूले जानकारी दिए।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ।

नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत, लोसपाका ३–३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन्। प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।

तपाईको प्रतिक्रिया