दाङ – लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।
८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् । शपथसँगै सांसदहरुलाई झोला र लोगोसमेत प्रदान गरिएको छ। लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ।
एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन्।
गुल्मी निर्वाचन क्षेत्र न. २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुसालले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्न भुसाललाई जेष्ठ सदस्यको प्रमाणपत्र प्रदान गरेका छन्।
लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सोमबार १ः३० मा बस्दैछ।

तपाईको प्रतिक्रिया