तुलसीपुर । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मंगलबार मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको हो । उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।
तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेले जनाएको छ ।
वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया