मुख्यमन्त्री कार्यालयको तीन ट्रक सामाग्री स्थायी राजधानीमा झारियो

दशरथ घिमिरे
दाङ–लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थायी राजधानीमा सारिएको छ । राजधानी कार्यान्वयनको लागी मुख्यमन्त्री कार्यालय स्थायी राजधानीमा सारिएको हो । अव अन्य मन्त्रालय र बिषयगत कार्यालयहरु पनि सार्ने तयारी सुरु भएको छ ।

 

अस्थायी मुकाम बुटवलमा रहेको मन्त्रालयको सामाग्री स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा झारिएको छ । तीन ट्रक सामाग्रीहरु प्रदेश राजधानीको प्रशासनिक केन्द्र मौरीघाटमा झारिएको हो । मन्त्रीपरिषद्को बैठक कक्ष, सचिवालय, एक्सन रुम लगायका सामाग्री सारिएको छ । प्रदेश राजधानी कार्यान्वयनको गति बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।‘प्रशासनिक केन्द्र यही मौरीघाट भएको छ । शिक्षालय गोवरडिहा सरेपछी प्रशासनिक केन्द्र बनाउन सहज भएको हो’उनले भने,‘जग्गा विकास कार्यक्रम गुरुयोजना अनुसार भएको छ । अन्य मन्त्रालयको भवन बनाउन ठेक्का पनि भएको अवस्था छ ।’

साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएका भवनको सामान्य मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बनाएको छ भने अन्य मन्त्रालयहरु पनि अन्य भवनमा सार्ने तयारी छ । अहिले सम्म मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास समेत तयार भएको छ । केही दिन भित्र औपचारीक कार्यक्रम गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कामकाज थाल्ने छ । प्रदेश सरकारको प्रशासनिक केन्द्र सञ्चालन गर्न कुनैपनि पूर्वाधारको अभाव नरहेको जग्गा एकिकरण विकास समितिका अध्यक्ष श्यामेस चौधरीले बताए ।‘यहाँ कुनै पूर्वाधार अभाव छैन । कर्मचारीको लागी आवासको व्यवस्थापन पनि भएको छ’उनले भने,‘यो मिनि सिंहदरवार हो । सबै मन्त्रालय एउटै कम्पाउण्डमा अटाउछ ।’

प्रदेश राजधानीमा यस अघि दुई वटा मन्त्रालय स्थापना भइसकेका छन् । अव धमाधम रुपमा प्रमुख मन्त्रालय तथा विभागहरु आउन थालेपछी स्थानीय बासिन्दा पनि खुसी भएका छन् ।‘मन्त्रालय आयो । अव सबै काम यहीबाट होस । हामी खुसी छौं’स्थानीय जीवलाल पन्थिले भने,‘अव विकास पनि होला ।’

राजधानी कार्यान्वयन संगै प्रदेश सभाको दोस्रो कार्यकालयको पहिलो बैठक समेत स्थायी राजधानीमा आह्वान गर्ने तयारी सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया