महेन्द्र राजमार्गको दाङ खण्डमा ३१ मिटरभित्र सडक मिचेका संरचना हटाउन १५ दिने निर्देशन

 

 

दाङ । महेन्द्र राजमार्ग (पूर्वपश्चिम राजमार्ग) अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ ।

सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागु हुने गरि १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संचना हटाउन निर्देशन गरेको हो ।

जारी सूचनामा दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडकको केन्द्रबिन्दुबाट दायाँ, बाँया ३१/३१ मिटर भित्र रहेका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुखको हस्ताक्षर रहेको सूचना अनुसार १५ दिन भित्र सम्पूर्ण संरचना हटाउन निर्देशन दिइएको हो ।

मंसिर २० गतेदेखि लागु हुने गरी पुस ५ गते भित्र भित्र नहटाएमा आफै हटाउने समेत सडक डिभिजन कार्यालय दाङको तयारी रहेको छ । साथै संरचना खालि गर्दा/गराउँदा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ती वा संस्थाबाट असुल उपर गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।

पूर्वमा धानखाेलादेखि पश्चिममा शिवखाेला सम्मकाे ७७ किमि सडक क्षेत्रकाे दायाँबायाँ खाली गर्ने सूचना जारी गरेकाे याे सडक खण्डमा एमसिसी परियाेजना लागू भएको छ। पहिलो चरणमा ४४ किलोमिटर क्षेत्र मर्मत गरिने उल्लेख छ।

सडक डिभिजन कार्यालयले धानखोलादेखि शिवखोला क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनकालागि अनुरोध गरेको छ । कार्यालयले राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा सूचना टाँस गर्नकालागि समेत पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया