वैशाख । राप्ती गाउँपालिकाको नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार जगदम्बा चौधरी यतिबेला चुनावी प्रचारप्रसार अभियानमा व्यस्त हुनुहुन्छ ।

गत चुनावमा गाउँपालिकाको उपाध्यक्ष पदमा जित्नुभएका चौधरीले यसपटक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्दागर्दै अधुरा भएका काम पूरा गर्ने र थारु समुदायका बालबालिकाका लागि शिक्षाको राम्रो व्यवस्था गर्ने मुख्य एजेन्डासहित उहाँ अहिले घरदैलो अभियानमा जुटिरहनुभएको छ ।
हाम्रो लुम्बिनी न्यूजसँगको कुराकानीमा उहाँले उपाध्यक्षको पदमा काम गरिरहँदा पूरा हुन नसकेका र गर्न बाँकी रहेका काम तथा योजनालाई अध्यक्ष बनेर गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्षमा जितिसकेपछि थारु समुदाय तथा आदिवासी जनजाती बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग गर्छु । उनीहरूको वृति विकास मेरो पहिलो प्राथमिकतामा रहनेछ ।’
भ्यू टावर बनाउने, तलभत्तामा जनताको करको प्रयोग गर्ने जस्ता काम आफूले नगर्ने भन्दै उहाँले पालिकाको समृद्धिका लागि भौतिक विकास, स्वास्थ्य, कृषि, शिक्षा आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो ।
आफू अध्यक्षमा निर्वाचित भएपछि पालिकाका सदस्य र कर्मचारीका आफन्त, छोराबुहारी, छोरी लगायत कसैलाई पनि जागिरमा नराख्ने बरु जेहेन्दार र योग्य जो हुन्छ उसलाई राख्ने उहाँको भनाइ छ ।
विद्युतको पहुँच, बाटोघाटो निर्माण, स्वास्थ्य संस्थाको सहज पहुँच र महिलाहरूको वृति विकासका लागि आफूले प्राथमिकताका साथ काम गर्ने पनि आफ्नो मुख्य एजेन्डा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया