दाङ– १ मा दुई चौधरीमध्ये कस्ले मार्ला बाजी?

 

 

दशरथ घिमिरे

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नं. १ मा रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।

नेकपा एमालेका उम्मेदवार शान्ता चौधरी र गठबन्धनका उम्मेदवार मेटमणी चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा निर्वाचमा यी दुईसहित अन्य १२ जना पनि उम्मेदवार छन् ।

अघिल्लो २०७४ सालको निर्वाचनमा मेटमणी एमालेको उम्मेदवार थिए । उतिबेला नेकपा माओवादीसँग तालमेल थियो । जसको जगमा मेटमणीले नेपाली कांग्रेसकी शुसीला चौधरीलाई १०८३४ मतान्तरले हराएका थिए । अहिले परिस्थिती फेरिएको छ । जसलाई हराए, उनैसँग तालमेल गरेर चुनावी मैदानमा छन् मेटमणी । अघिल्लो निर्वाचनमा जसको साथ पाएर चुनाव जिते, उसको विपक्षमा छन् मेटमणी । एमालेका दुई सहकर्मी शान्ता र मेटमणी यसपालीको निर्वाचनमा आमनेसामने भएका छन् ।

मतदाताले कस्लाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ । तर, यी दुवै उम्मेदवार कांग्रेस समर्थीतको भोटलाई आफूतिर प्रभावित गर्ने दाउमा छन् । हाल सहरी विकास मन्त्रीसमेत रहेका मेटमणीले कांग्रेसको भोट प्रभावित गर्न बजेट निर्माणदेखि दाउ खेलेको देखिन्छ । विपि स्मृती भवन निर्माणमा उनले बजेट पार्दै आएका छन् । यसबाट उनले कांग्रेससँग नजिक हुन खोजेको देखिन्छ । तर, चुनाव जीत्न यो ट्याकटिसले मात्रै काम नगर्ने देखिन्छ ।

शान्ता चौधरी कमलहरी जीवनबाट उठेकी हुन् । समानुपातिक प्रणालीमार्फत कानुन निर्माण गर्ने तहसम्म पुगेकी शान्ता यसपाली प्रत्येक्ष निर्वाचन प्रणालीबाट उम्मेदवार बनेकी छन् । यहाँको निर्वाचन माहोल र उनीहरूको विगत हेर्दा दुवै बलिया उम्मेदवार हुन् ।

यस्तो छ अंकगणित

एकीकृत समाजवालीले वडा तहमा प्राप्त गरेको मत हेर्ने हो भने १४४९ देखिन्छ । गठबन्धनको टिकट वितरण गर्दा पनि कांग्रेसका प्रतिनिधिले जसको आफ्नै भोट छैन उसलाई टिकट किन दिने भने लविङ्ग गरेका थिए । तर, त्यो लविङ्गको अर्थ रहेन । कांग्रेस र नेकपा माओवादीको मतलाई तुलना गर्दै मेटमणीले झण्डै ४० हजार भोट प्राप्त गरेर चुनाव जित्ने दाबी गर्छन् । ‘चुनाव कसरी जित्नुहुन्छ त्यो प्रश्न नगर्नुहोस्, कती मतले जित्दै हुनुहुन्छ त्यो सोध्नुहोस्, म अराउण्ड ४० हजार भोट पाएर चुनाव जित्छु’उनले मनोनयन दर्ता गरेपछी भनेका थिए । तर, कांग्रेस र माओवादीको भोट मतपेटिकामा सोझाउन त्यती सजिलो देखिन्न । स्थानीय तह निर्वाचनको जनमतलाई आधार मानेर हिसाव लगाउने हो भने यसपालीको चुनावमा त्यसले फेल खाने विश्लेषण गर्न थालिएको छ ।

स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका भित्र पाँच दलीय गठबन्धन भएपनि चार वटा स्थानीय तहमा कांग्रेसले गठबन्धन गरेन । राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको तालमेल थियो । लमही नगरपालिका र राजपुर गाउँपालिकामा कांग्रेस एक्लै चुनाव लडेको अवस्था थियो । तर, उतिबेला प्राप्त भएको वडा तहको मतलाई आधार मान्ने हो भने कांग्रेस २९७५७ मतसहित पहिलो पोजिसनमा देखिन्छ भने एमाले २७०२५ मतसहित दोस्रो, माओवादी १९१६१ मतसहित तेस्रो पोजिसनमा देखिन्छ ।

क्षेत्र नं. १ आदीवासी जनजाती थारु समुदायको बाक्लो बसोवास रहेको क्षेत्र हो । प्रतिनिधि सभा निर्वाचनमा यहाँ ठूला राजनीतिक दलले थारु समुदायका व्यक्तिलाईनै उम्मेदवार बनाएका छन् । यो निर्वाचनमा नागरिक उन्मुक्ती पार्टीको उम्मेदवारीलाई पनि अर्थपूर्ण ढंगले हेरिएको छ । सुरेन्द्र चौधरी चुनावी मैदानमा छन् । उनले पनि थारु समुदायको भोट पाउने देखिन्छ ।

क्षेत्र नं.१ मा एमालेले शान्तासँगै प्रदेश सभा सदस्यमा १(१)मा गंगाराम भट्टाई, १(२)मा कुलबहादुर केसी उम्मेदवार बनाएको छ । गठबन्धनबाट प्रदेश १(१) माओवादीका इन्द्रजीत थारु, १(२)मा कांग्रेसका अनुराग खड्का उम्मेदवार छन् । माओवादी भित्र पटक पटक अवसर पाउने मध्य इन्द्रजीत हुन् । उनी अहिले लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् । पटकटक एउटैले अवसर पाएको भन्दै माओवादी बृत्तमा उनको आलोचना सुरु भएको छ । कांग्रेसले खुमबहादुरको छोरा अनुरागलाई टिकट दिएपछी संस्थापन पक्षमा असन्तुष्टी देखिन्छ । अघिल्लो निर्वाचनमा हार व्यहोरेका जानकिलाल बस्नेत यसपाली पनि आकांक्षी देखिन्थे । तर, उनले टिकट पाएनन् ।

चुनाव जित्न एमालेले कांग्रेस र माओवादीको भोट प्रभावित गर्नुपर्ने देखिन्छ भने गठबन्धन पक्षधर भोटको सुरक्षा गर्नुपर्ने अवस्थामा छन् । तर, कस्ले बाजी मार्छ भन्ने हेर्न मंसिर ४ कुनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया