बासुदेव न्यौपाने, देउखुरी । गढवा गाउँपालिका वडा नं. ४ कटेनगाउँ कि गंगा चौधरीलाई खुट्टा तथा ढाड झमझमाउने समस्याले सताएको थियो । दशै नजिकिएसँगै उनी उपचारमा जान नसकेको बताइन् । तर उनले आफ्नै घर आगनमा शनिवार उपचार गर्ने अवसर पाइन । उनी मात्र हैन गढवा ५ का ६४ वर्षिय जोखन चौधरीको मुटु दुख्ने समस्या भएतापनि पैसा अभावमा उपचार गर्न सकेका थिएनन् । उनले पनि शनिवार स्वास्थ्य सेवा लिने अवसर पाए । उनि मात्र होइन त्यस क्षेत्रका सयौंको संख्यामा स्वास्थ्य उपचार सेवा पाएका छन् ।

काठमाडौं स्थित देउखुरी निसराउ समूहले गढवामा शनिवार आयाोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा उनिहरुले सेवा लिने अवसर पाएका थिए ।
देउखुरी निसराउ समूहले गढवा गाउँपालिका वडा नं. ५ स्थित श्रीमावि चैनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा ६ सय ७० जनाले स्वास्थ्य उपचार गर्ने अवसर पाएका देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले जानकारी दिए ।

२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाइसकेको छ ।
शिविरमा ३ सय ७८ जना महिला र २ सय ९२ जना पुरुषले सेवा लिएका डा. पुष्प भुसालले बताए । उनले भने महिला ५६.३६ प्रतिसत र पुरुष ४३.५८ प्रतिशतले शिविरबाट लाभान्वित भएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा ३६४ जनाको जेनरल मिडिसिन, ३४ जनाले दन्त सेवा, २३ जनाले स्त्रीरोग, १ सय २३ जनाले हार्ड जोर्नी, ४६ जनाले फिजिसियान, २ सय प५ जनाले आँखा, २५ जनाले सुगर तथा थाइराइड र १ सय २३ जनाले ल्यावको सेवा लिएका छन् । शिविरमा निःशुल्क औषधीका साथै चस्मा समेत निःशुल्क वितरण गरिएको थियो ।
उक्त शिविरमा हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, दन्त चिकित्सक डा. कृष्ण प्रसाद चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध गराएका थिए । साथै, मेडिकल अफिसरहरु डा पुष्प भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले शिविरमा सेवा दिएका अध्यक्ष चौधरीले बताए ।

थारु कल्याणकरिणी सभा गढवा सहआयोजक रहेको शिविरमा गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य रहेको देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले बताए ।

देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन शहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए ।


तपाईको प्रतिक्रिया