सल्यानमा जीप दुर्घटनाः मृतक आठै जनाको सनाखत

दाङ । सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ ।

 

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट ३ मुलपानीमा बिहान साढे तीनबजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट–६ का व्यक्ति रहेका प्रहरीले बताएको। घटनास्थलमा प्रहरीसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दा उद्धारमा खटिएका छन्। जीप दुर्घटनामा परि मृत्यु भएका सबैको सनाखत भएको छ।

दुर्घटनामा परी जीप चालक कपुरकोट–६ जलवाङका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षीय ललित वली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जीपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ।

उनीहरूको शवलाई पोष्टमार्टमका लागि सल्यान अस्पताल लगिँदैछ। घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया