लुम्बिनी प्रदेशमा मन्त्री थप्ने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । ०८०/८१ को बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । बैशाख १४ गते मुख्यमन्त्री भएका चौधरीले सरकारलाई अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

 

लुम्बिनी प्रदेशमा अहिले तीनवटा मन्त्रालय मन्त्रीविहीन छन् । खानेपानी, ग्रामीण तथा शहरी विकास, वन तथा वातावरण र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । यी तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले सम्हालिरहेका छन् ।

सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री थपिनेछन् । भागवण्डामा भएको सहमति अनुसार साना दलको प्रतिनिधित्व भइसकेकाले अब कांग्रेस र माओवादी केन्द्रबाट तीन जना मन्त्री नियुक्त हुने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले बताए ।

उनका अनुसार सकेसम्म छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी मुख्यमन्त्री चौधरीले गरिरहेका छन् । कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमल्सेनाले सरकारलाई पूर्णता दिने गृहकार्य भइरहेको बताए । उनले साउन पहिलो हप्ताभित्रै सरकारलाई पूर्णता दिने सहमति भएको बताएका छन्।

कांग्रेस र माओवादी केन्द्रका प्रदेशस्तरका नेताहरू बसेर छिट्टै निर्णय गर्ने उनले जानकारी दिए । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बाँकी रहेका मन्त्रालय र संसदीय समितिहरूका सभापतिसहित प्याकेजमा टुंग्याउने गरी साउन २/३ गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए। कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादी केन्द्रले अर्थमन्त्रीसहित ३ मन्त्री पाउने सहमति कांग्रेस –माओवादी केन्द्रबीच भएको थियो।

तपाईको प्रतिक्रिया