गुल्मीको रेसुङ्गा विमानस्थल: समयमा सञ्चालन नहुँदा ‘टिकटक’ बनाउनको लागि मात्र प्रयोग हुँदै

मनोज कार्की, गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

 

विमानस्थल सञ्चालनमा नआउँदा वर्षौँदेखि विमान चढेर भैरहवा, काठमाडौं, पोखरा लगायतका ठुला सहरमा यात्रा गर्ने गुल्मीवासीको सपना अधुरै भएको छ ।

नियमित उडानको लागि विमानस्थल तयार भएपनि विमान उडानको अन्योल हुँदा निर्माण गरिएका संरचना भत्किएका छन् ।  पछिल्लो समय विमानस्थल टिकटक र पर्यटन गन्तव्यमा सीमित भएको छ । 

गुल्मी जिल्लाको गौरवको आयोजना मध्ये एक हो रेसुङ्गा विमानस्थल । निर्माण सुरु गरिएको १५ वर्षमा विमानस्थल निर्माणको काम सकिएपनि विमान उड्ने छाँटकाँट नहुँदा विमान चढ्ने सपना सपनामै सीमित भएको रेसुङ्गा नगरपालिका १० की रमिता अर्यालले बताइन् ।

उनले भनिन् विमानस्थल बन्यो अव जहाज उड्ला भनेको त उल्टो भवन तथा संरचना तोडफोड हुन थाले । 

विमानस्थल सञ्चालनमा नआएपछि विमानस्थलमा नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटा खिच्ने लगायतका गतिविधि हुन थालेका छन् । निर्माण सुरुभएसँगै पटक पटक विमानस्थलबाट नियमित उडान आशा देखिएपनि निर्माण सकिएको महिनौँ बितिसक्दा समेत उडान हुन् नसकेको गुल्मी रेसुङ्गा नगरपालिका १० का शेर बहादुर पुनले बताए ।

पुनले भने जिल्लाका नेताले प्रत्येक नयाँवर्ष र दशैँमा नियमित विमान उडाउने भन्दै भाषण र सपना बाँडे तर अहिले आएर त्यो भ्रम मात्रै भयो । 

जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडक भरपर्दो नहुँदा हवाई यात्रा छिटो र भरपर्दो मानिन्छ । राज्यले विमानस्थल निर्माणको लागि करोडौं लगानी गरेपनि बालुवामा पानी जस्तै भएको स्थानीयको आरोप छ । विमानस्थललाई देखाएर विभिन्न राजनीतिक दलका नेताले चुनाव जितेका छन् ।

रेसुङ्गा बिमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । विमानस्थलको पार्किङ्ग ६० मिटर लम्बाइ ३० मिटर चौडाइ रहेको छ । हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको छ ।

विमानस्थलको सुरक्षाका लागि नगरपालिकाबाट एकजना नगरप्रहरी खटाइएको छ । राजनीतिक नेतृत्वले विमानस्थलको नियमित सञ्चालनमाबारे धेरै पटक प्रतिवद्धता जनाएपनि त्यस्ता प्रतिवद्धता कार्यान्वयन हुन सकेका छैनन् । 

रेसुङ्गा बिनानस्थल निर्माणको लागि मुआब्जा दिने गरि  १४ घर बस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि विमानस्थल निर्माणको काम थालिएको थियो । नव निर्वाचित रेसुङ्गा नगरपालिकामा मेयर खिलध्वज पन्थी स्वयम् विमानस्थल निर्माण समितिमा बसेर काम गरेका थिए । प्राधिकरण विभाग र मन्त्रालयसँग सहकार्य गरेर छिटो उडान भर्ने रेसुङ्गा नगरपालिकाका मेयर  पन्थीले बताए । 

हाल विमानस्थलमा  वरिपरि टेवा पर्खाल ,धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किन लगायतका काम सकिएको छ । धावनमार्ग निर्माण गर्दा स्थानान्तरण गरिएका परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारी दिने भनेपनि विमानस्थल नै सञ्चालनमा नआएपछि स्थानीय पनि निराश देखिएका छन् ।

तपाईको प्रतिक्रिया