‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ दशौं संस्करण : कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने

 

 

काठमाडौं । यस वर्षको ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ ।

अवार्ड स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उदेश्यका साथ ‘स्वास्थ्य खबर पत्रिकाका वार्षिक रुपमा वितरण गर्दै आएको छ ।

१२ वर्ष अघि अर्थात २०६८ सालमा शुरु भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई वर्ष कोभिडका कारण स्थगित भएको थियो । यस वर्ष यही भाद्र १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजक स्वास्थ्य खबर पत्रिकाले जनाएको छ ।

आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार यस वर्ष कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।

यस वर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ । कोभिड महामारीको जोखिममा समेत जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शब व्यवस्थापक लगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन् ।

‘कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरब महसुस भएको छ, न्यौपानेले भने ‘यसवर्ष अवार्ड खोप नआउँदा जतिबेला कोभिड संक्रमणसँग मानिसहरु त्रसित थिए त्यस्तो विपत्तिको समयमा समेत आफ्नो कर्तब्यमा लागिपरेर मानव जीवन बचाउन योगदान गर्नु भएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ ।”

कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानीत गरिने छ । यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ ।

अवार्डकोलागि नामावली संकलन, छनौट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको छ ।

समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्लाजिल्लाबाट सुचना संकलन कार्य गरिरहेको बताएको छ ।

हालसम्म देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब पाँच सय स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ ।

स्वास्थ्य खबर पत्रिका नेपालको पहिलो स्वास्थ्य क्षेत्रको विशिष्ठिकृत पत्रिका हो । मासिक रुपमा प्रकाशन हुँदै आएको पत्रिकाको प्रकाशन १४ बर्ष पहिला शुरु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया