
दाङ । दाङको तुलसीपुरमा अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती माग्ने ६ को समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर(४ खाद्रेका २५ बर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।
निर्मलालाई प्रयोग गरेर केशवको अपहरण गरिएको थियो । निर्मला विकले फेसबुकमा कुरा गर्दै सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् । केशव सोमबार राति नै बुटवल आइपुगेका थिए । तर अन्तिम सयममा निर्मलाले आफू लिन आउँन नसक्ने र आफन्तलाई गाडीमा लिन पठाएको बताइन् । केशवलाई लिन पुगेका बबई गाउँपालिका–४ का ३५ बर्षीय लीला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्तीले गाडीमा हालेर सोमबार राती नै तुलसीपुर ल्याएका थिए ।
सोमबार राति नै तुलसीपुर ल्याएपछि केशवलाई सल्यान रोडस्थित युवम होटेलमा उनिहरुले बन्धक बनाएर राखे । ७ लाख रुपैयाँ दिएमात्रै छोड्ने भन्दै उनीसँग रकम मागे । पैसा माग्नका लागि केशवले दैलेखमा रहेकी श्रीमतीलाई फोन गरे । त्यसपछि केशवकी श्रीमतीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई जानकारी गराएकी थिइन् । सुचना पाउना साथ प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमान्डमा खटिएको १५ जनाको प्रहरीको टोलीले केशवको उद्दार गर्दै घटनामा संलग्नको आरोपमा मंगलबार बेलुका ५ बजे ६ जनालाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया