राप्तीमा रोटरीको अभियानः दोस्रो दिन १५ सय बढी बालबालिकाको मुटुरोग परीक्षण

 

 

देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रम दोस्रो दिन पनि जारी रहेको छ ।

रोटरी क्लव अफ राप्तीको विशेष पहलमा सोमबारदेखि राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण सुरु गरिएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सुरु गरिएको हो।

 

दोस्रो दिन सामुदायिक विद्यालयमा अध्ययनरत १५ सय ९१ जना बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले बताए । पहिलो दिन सोमबार १४ सय ७ जना बालबालिकाहरुको परीक्षण गरिएको थियो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार १५ सय ९१ बालबालिका मध्ये सर्बोदय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामा जन्मजात मुटुरोग देखिएको जानकारी दिए ।

रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष तथा सर्भिस प्रोजेक्ट निर्देशक बासुदेव न्यौपानेले क्लवको वर्ष २०२५/२६ को बार्षिक कार्ययोजना अनुसार राप्ती गाउँपालिका, रोटरी क्लव चन्द्रागिरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार पहिलो चरणमा सामुदायीक विद्यालयमा अध्ययनरत बालबालिका र दोस्रो चरणमा संस्थागत विद्यालयका बालबालिकाहरुको परिक्षण गरिने छ ।

 

राप्ती गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण गर्ने लक्ष्य रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया