
देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ।
राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण सुरु गरिएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सुरु गरिएको हो।
राप्ती गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु गरिनेछ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।’

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा संक्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार, ‘यस उमेर समूहका बालबालिकाहरू फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति हुने हुँदा घाँटीमा समस्या हुँदै मुटुमा असर पर्ने खतरा हुन्छ।’ कोहीमा जन्मजात नै मुटुरोग देखापर्ने पनि उल्लेख गर्दै डा. बन्जाडेले गर्भावस्थामा आमाले अन्जानमा कडा औषधि सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले समेत नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिने गरेको बताउनुभयो ।
त्यसैगरी रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष तथा सर्भिस प्रोजेक्ट निर्देशक बासुदेव न्यौपानेले क्लवको वर्ष २०२५/२६ को बार्षिक कार्ययोजना अनुसार राप्ती गाउँपालिका र रोटरी क्लव चन्द्रागिरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा सामुदायीक विद्यालयमा अध्ययनरत बालबालिका र दोस्रो चरणमा संस्थागत विद्यालयका बालबालिकाहरुको परिक्षण गरिने छ ।
रोटरी क्लव राप्तीका अध्यक्ष गोपाल आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ सोमबार वडा नं. २ मा रहेको श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाबाट गरिएको छ।

पहिलो दिन १४ सय ७ जनाको परीक्षण
श्री आर्दश नमुना माध्यमिक विद्यालयबाट सुरु भएको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण कार्यक्रमको पहिलो दिन १४ सय ७ जनाको परीक्षण गरिएको बासुदेव न्यौपानेले जानकारी दिनुभयो । पहिलो दिन श्री आर्दश माध्यमिक विद्यालय लालमटिया, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ र नव प्रतिभा आधारभुत विद्यालयका बालबालिकाहरुको परीक्षण गरिएको छ ।
१४ सय ७० जनाको परीक्षण गरिएमा श्री आर्दश नमुना माध्यमिक विद्यालयका २ जनामा जन्मजात मुटुरोग देखिएको डा. सुमन्त बन्जाडेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया