दाङ – लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेगरी स्वीकृत कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएको छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा कार्यक्रम कार्यान्वयनको सोमवार राप्ती उपत्का(देउखुरी)मा समीक्षा बैठक आयोजना गर्दै शैक्षिक सुधारमा केन्द्रित भएको हो।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षसहित शैक्षिक पक्षलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए।
‘सामुदायिक र संस्थागत विद्यालयबीच व्यवस्थापकीय पक्षमा भिन्नता छ। सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै शैक्षिक वातावरण निर्माण गरेर मात्र गुणस्तरमा सुधार ल्याउन सकिन्छ। यसमा लिडरको रूपमा रहेका प्रधानाध्यापकहरूले विशेष भूमिका निर्वाह गर्न आवश्यक छ,’ मन्त्री तिमिल्सिनाले भने,‘तीन तहका सरकारले शिक्षामा गर्ने लगानी समेत बढाउन जरुरी छ,’ उनले थपे।
उनका अनुसार शिक्षा क्षेत्रमा गरिने लगानीले भविष्य सुनिश्चित गर्ने भएकाले प्राविधिक तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु आवश्यक छ। उनले थप्दै भने ‘शिक्षामा गरिएको लगानीले एकै वर्षमा नतिजा दिन्छ भन्ने होइन। वर्षौंपछि मात्र यसको प्रभाव देखिन्छ,’उनले भने,‘शिक्षा नै चेतनाको आधार हो। त्यसैले यसमा लगानी र प्राथमिकता दुवै बढाउन जरुरी छ।’
शिक्षित बेरोजगारी समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले अबको शिक्षालाई उद्यमशिलता, आयआर्जन र रोजगारीसँग जोड्न आवश्यक रहेको धारणा राखे। सोही अनुसार प्रदेश सरकारले कार्यक्रम बनाएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया