गढवामा महिला प्रहरी निरीक्षकको सफल नेतृत्व

दशरथ घिमिरे

 

दाङ- इलाका प्रहरी कार्यालय गढवामा यतिबेला महिला प्रहरी निरीक्षकको जिम्मेवारी कालिका कार्कीले सम्हालिरहेकी छन् ।

महिला निरीक्षकको तेस्रो जिम्मेवारी कार्कीले सम्हालिरहेकी हुन् । यसअघि दुई जना महिला प्रहरी निरीक्षकले उक्त कार्यालयको कमान्ड सम्हालेका  थिए ।

रञ्जु केसीले २०७९ सालको वैशाख १ गतेदेखि चैत २५ गतेसम्मको जिम्मेवारी वहन गरिन् । त्यसपछि नवीन वलीले चैत २५ गतेदेखि २०८१ जेठ ३ गतेसम्म कार्यभार सम्हालिन् । त्यसपछि कालिका कार्की २०८१ जेठ ३ गतेदेखि हालसम्म कार्यालयमा कार्यरत छन् । अहिले नियमित सरुवाअनुसार कार्कीको सरुवा भएको छ ।

महिला प्रहरी निरीक्षकलाई इलाका प्रहरी कार्यालयको इञ्चार्जको जिम्मेवारी दिँदा कार्यसम्पादन कस्तो होला भन्ने चासो व्यक्त गरिएको थियो । तर, तीन महिला निरीक्षकले लगातार सफलतापूर्वक कमान्ड सम्हालेपछि उनीहरूको प्रशंसा भएको छ । देउखुरीको दक्षिण क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने, नागरिकको गुनासो सुन्ने र विपद् व्यवस्थापनमा उनीहरू सफल सावित भएका छन् ।

प्रहरी प्रधान कार्यालयले ०७९ सालदेखि महिला प्रहरी निरीक्षकलाई गढवामा खटाएको हो । ३२ वर्षको अवधिमा पहिलोपटक महिला प्रहरी निरीक्षकलाई इञ्चार्जको रूपमा पठाइएको थियो । इलाका प्रहरी कार्यालय गढवाले २०४७ सालदेखि हालसम्म २८ जना प्रहरी इञ्चार्जको जिम्मेवारी निर्वाह गरेको छ । तीमध्ये तीनजना महिला प्रहरी निरीक्षकहरूले कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

भारतसँग सीमा जोडिएको र संवेदनशील मानिने यस भौगोलिक क्षेत्रको सुरक्षाका लागि महिला प्रहरी निरीक्षकको भूमिकाले समुदायमा विश्वास जगाएको छ । स्थानीय उमाकान्त पन्थले भने,’धेरै इञ्चार्जले यो ठाउँ देखिसकेका छन् । अहिले महिला प्रहरी निरीक्षकको कामले प्रशंसा बटुलेको छ ।’ उनले थप भने,‘यस क्षेत्रमा घरेलु हिंसा, यौनजन्य हिंसाका घटना लुकेर रहेका हुन्छन् । ती घटनालाई बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन महिला प्रहरी निरीक्षकले प्रभावकारी भूमिका खेलेका छन् ।’

देउखुरी सामुदायिक पुस्कातलयका अध्यक्ष ओभा पाठकका अनुसार इलाका प्रहरी कार्यालयमा महिला प्रहरी इञ्चार्जले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताइन् । ‘महिलाले सक्दैनन की भन्ने जुन भ्रम थियो, त्यो तोडिएको छ’ उनले भनिन्,‘सुरुमा महिला प्रहरी निरिक्षक इञ्चार्जको रुपमा आउँदै गर्दा धेरै भ्रमहरु देखिन्थे । अहिले ति भ्रमहरु कामबाट तोडिएका छन । विश्वास जित्ने र काम गर्ने सवालमा महिला प्रहरी निरिक्षकहरु काविल हुनुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

बाढी, पहिरो, आगलागीजस्ता विपद् प्रतिकार्यमा अग्रपंक्तिमा खटिनु, सीमा क्षेत्रमा नियमित अनुगमन बढाउनु, प्राकृतिक स्रोत साधनको संरक्षणमा ध्यान दिनु महिला इञ्चार्जको सक्रियता हो । यादव र थारु समुदायको बाक्लो बासोबास रहेको यस क्षेत्रमा घरेलु तथा सामुदायिक विवादहरू प्रहरी कार्यालयमा आउने गरेका छन् । कार्कीको नेतृत्वमा मेलमिलापसहित मुद्दा दर्ता गरिँदै पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

कालिका कार्कीले भारतमा बेचिएकी एक महिलाको सफल उद्दार गरिन् । उनी तीन दिन भारत पुगेर पीडितलाई उद्दार गर्न सफल भएकी हुन । यौनजन्य हिंसामा परेका बालिका, किशोरी तथा महिलाको समस्यामा सहजता आएको अनुभव उनको छ । ‘महिला इञ्चार्ज हुँदा यौनजन्य हिंसामा परेका पीडितहरूले नजिक भएर खुला रुपमा कुरा राख्न सक्ने वातावरण बनिदो रहेछ’कार्कीले भनिन्,‘त्यस्ता घटनाहरू खुलेर आउँदा समाधानमा टेवा पुग्दोरहेछ ।’

तपाईको प्रतिक्रिया