दाङ-लुम्बिनी प्रदेशमा विश्व भेटेरिनरी दिवस-२०२५ पशु चिकित्सक, कृषक, व्यवसायी र प्राविधिकहरूका बीचमा अन्तरक्रिया तथा संवाद गरेर मनाइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशले `पशु स्वास्थ्यका लागि सामूहिक पहल´ मूल नारासहित शनिबार दाङको लमहीमा दिवस मनाएको हो ।

दिवसको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले पशु स्वास्थ्य सुधार गरेर मात्र उत्पादन बढाउन सकिने बताएका छन । `पशु स्वस्थ नभएसम्म त्यसबाट लाभ लिन सकिँदैन । सर्वसुलभ पशु उपचार सेवाका लागि जनशक्ति परिचालन, ल्याब स्थापना र औषधि उपचारमा किसानको सहज पहुँच पुग्न जरुरी छ´उनले भने-`पशु चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने सवालमा प्रदेश सरकारले ध्यान दिन्छ ।´
विभिन्न रोगको प्रकोपका कारण पशुधनमा ठूलो क्षति व्यहोर्नु परेको भन्दै उनले आगामी दिनमा हुन सक्ने त्यस्ता प्रकोपहरूको सामना गर्न तयारी गर्नुपर्ने बताए ।
त्यस्तै, मन्त्री पन्थीले अहिले निराशाको खेती बढेको भन्दै त्यसबाट नआत्तिन र सकारात्मक चिन्तनका साथ अघि बढ्न आवश्यक रहेको बताए । परिवर्तन र उपलब्धिको तुलना गरेर मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पन्थीले तीन तहमा जिम्मेवारी बाँडिएकाले सबै संरचनाले प्रभावकारी काम गर्नुपर्ने बताए ।
लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले किसानहरूलाई पर्ने हरेक समस्याको समाधान गर्न सहकार्य आवश्यक रहेको बताए ।
एशोसिएसनका सहसचिव डाक्टर संजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर शंकर न्यौपाने, राप्ती फिडका सञ्चालक लिलाराम खनाल, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका मोहन केसी, प्रकाश पाण्डे, तिलक अधिकारी, डाक्टर मनोज ओली, डाक्टर प्रतिभा थापा, डाक्टर मिलन पौडेल, डाक्टर तिलक पोख्रेल, डाक्टर रेगम पोख्रेल, डाक्टर विनय थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया