दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्।

नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँड, सङ्घीय ढाँचाको शासकीय अभ्यास, तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको पहिलो ऐतिहासिक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको हो।
उक्त बैठकमा दुई प्रदेशका साझा सम्भावनालाई सम्बोधन गर्ने तथा प्रदेश सरकारलाई जनताको अझ नजिक पु¥याउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन्।
साझा प्रतिबद्धताअनुसार दुवै प्रदेशका बीचमा नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाइ सेवा विस्तार गर्न पहल गरिने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क रोड, गैंडाकोट–कालिगण्डकी कोरिडोर,भिमगिठे–बुर्तिवाङ–गौमुखी–झिमुक सडक लगायतका अन्तरप्रदेशीय सडक सञ्जालको स्तरोन्नति गरिने बिषयलाई साझा प्रतिबद्धतामा समावेश गरिएको छ।
साथै, पोखरा–बुटवल सडकखण्डलाई दुई लेनमा विस्तार गर्न संघीय सरकारसँग अनुरोध गरिने, भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न पहल गरिने, कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता तथा वितरण प्रणाली सुधार गर्न पोखरा र लुम्बिनीमा चिस्यान केन्द्रसहितको बिक्री कक्ष तथा खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिने उल्लेख छ।
पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटकीय मार्गका रूपमा विकास गरिनेछ भने धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि त्रिवेणी–देवघाट–रिडी–मुक्तिनाथसम्मको क्षेत्रलाई एकीकृत रूपमा विकास गरिने, गुरुङ, थकाली, मगर, थारू, अवध र नेवार समुदायका सांस्कृतिक पर्यटकीय पदमार्ग विस्तार गरिने उल्लेख छ।
उद्योग तथा व्यापार प्रवर्द्धनका लागि बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशस्थित लोकाहा खोला औद्योगिक क्षेत्रको प्रभावकारी प्रयोगमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने, खानी तथा खनिज उद्योग स्थापनाका लागि आवश्यक कानुनी एकरूपता कायम गरिने उल्लेख छ।
सार्वजनिक यातायातमा भाडादर एकरूपता कायम गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कडाइ गरिने, पाल्पाको रानीमहल क्षेत्रलाई पर्यटकीय पूर्वाधारसहित विकसित गर्न तथा कालीगण्डकी नदीमा जलप्रवाह बढाउन पहल गरिने बिषय पनि समेटिएको छ।
सहकार्यलाई निरन्तरता दिँदै आगामी समन्वयात्मक बैठक गण्डकी प्रदेशको आयोजनामा हुने बैठकले निर्णय गरेको छ।
‘अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन। लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितिमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन।
‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन्। तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’उहाँले भन्नुभयो,‘यि समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ।’
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सरोकारका बिषयलाइ सामुहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताए।
उनले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन लगायत साझा सरोकारका बिषयलाइ प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको बताएका हुन। प्रदेशका साझा सरोकारका बिषयलाइ संयुक्तरूपमा आवाज उठाउन जरुरी रहेको धारणा राखे। साझा मुद्दालाई सामुहिक रुपमा सम्बोधन गर्नुपर्नेमा उनको जोड छ।

तपाईको प्रतिक्रिया