विद्यार्थीलाई समाजसंग जोड्दै चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव सम्पन्न

दशरथ घिमिरे/देउखुरी ।सविना पोख्रेल र निशा शर्मा चैतन्य पाठशाला कक्षा ११ मा पढ्नुहुन्छ । कितावी ज्ञान मात्रै नभएर नयाँ खोज अनुसन्धानमा उहाँ दुवै सक्रिय हुनुहुन्छ । दैनिक कार्यमा प्रयोग हुने कागज कसरी तयार पारिन्छ भन्ने बारेमा खोज अनुसन्धान गरेर नेपाली कागज उत्पादन गरेर देखाउन सक्ने हुनु भएको छ । चैतन्य पाठशालाको पहिलो बार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो । जसमा दुई जना विद्यार्थीले नेपाली कागज तयार पारेर देखाउनु भएको हो ।‘वनजंगलमा पाईने लोक्ता(काठको बोक्रा)लाई उसुनेर, पानीमा राखेर, केमिकल मिसाएर तयार पा¥यौं । पछी कागज बनाउन सक्यौं’सविनाले भन्नुभयो,‘हाम्रो वन जंगलमा पाइने बावियो(खर)बाट पनि तयार पार्न सकिन्छ । हामिले विद्यालयमा व्यवहारिक ज्ञान सिकेर यहाँ देखाउन सक्यौं ।’

 

थारु समुदायमा माछा मार्ने आफ्नै परम्परागत विधि छ । यो विधिमार्फत माछा मार्दा जलिय जैविक विविधतामा असर पर्दैन । त्यही सन्देश विद्यार्थीले देखाउन खोजेका हुन । हातले चित्र कोरेर रुविका चौधरी, प्रतिक्षा चौधरी र गुञ्जन थारुले थारु समुदायमा माछा मार्न प्रयोग गरिने परम्परागत विधिलाई सबै माझ चिनाउन चित्र कोरेर प्रदर्शनीमा राख्नु भएको हो ।‘आमा–बुवाले यही विधिबाट माछा मार्नु हुन्छ । त्यही भएर यो देखाउन खोजेका हौं । जाल, हेल्का, टापिबाट माछा मार्ने परम्परा अझैं छ’रुविकाले भन्नुभयो,‘हाम्रो परम्पराको बिषय पनि स्कुलमा पढाई हुन्छ । त्यही भएर यहाँ राख्न पाउदा खुसी छौं ।’ रुमिता र स्मृति कक्षा ११ मा पढ्नुहुन्छ । दुवै जनाले मानव जीवनको उत्पत्ति कसरी भयो र यहाँ सम्म कसरी आईपुगे भन्ने बारेमा चित्रकला मार्फत जानकारी गराउनु भएको छ ।

 

पहिला जस्तो समाज अहिले छैन् । गाउँ पनि शहर जस्तै हुन थालेको छ । यो बदलियो परिवेशलाई समेत उहाँ दुवैले चित्रण गर्नु भएको छ । नोवेल पौडेल कक्षा ६ मा पढ्नुहुन्छ । एक मिटर जति लामो धागोको दुवै टुप्पामा कागजको कप अड्याउनु भएको छ । एउटा किनारको कपमा बोलेर अर्काे कप कानमा लगाएर धागोबाट सञ्चार हुने आवाज सुन्न सकिनेगरी प्रदशीर्नमा राख्नु भएको छ ।‘यो परम्परागत विधि हो । यसैलाई आधार मानेर टेलिफोन, मोवाईल बन्यो’उहाँले भन्नुभयो,‘यसरी नयाँ नयाँ काम गर्न पाउदा खुसी छु ।’ चैतन्य पाठशालमा अध्ययनरत विद्यार्थीहरुले नव प्रवर्तनका सामाग्री तयार पारेर प्रदर्शनीमा राखेका थिए । जसले कितावि ज्ञान भन्दा धेरै पर व्यवहारिक ज्ञान र समाज संग जोड्ने प्रयत्न गरेको छ ।‘होमवर्क, कितावको बोझ भन्दा पनि समाज संग विद्यार्थीलाई जोड्ने नविनतम विधिबाट पठनपाठन गर्ने हुदा विद्यार्थीमा व्यवहारिक ज्ञान प्राप्त भएको देखेको छु’अभिभावक मिनराज अधिकारीले भन्नुभयो,‘अहिले छोरा छोरीको व्यवहार परिवर्तन भएकोमा खुसी छु ।’

चैतन्य पाठशालाले पहिलो बार्षिकोत्सव भब्य कार्यक्रमका विच उत्सवको रुपमा मनाएको हो । अभिभाव, विद्यार्थी, शिक्षा संग जोडिएका व्यक्तिहरुको सहभागितामा बार्षिकोत्सव मनाइएको थियो । पाठशालाका अध्यक्ष ठाकुर ज्ञवालीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले विद्यार्थीहरुको क्षमता विकास गर्न, समाज संग जोड्न चैतन्य पाठशालाले गरेको परिवर्तनलाई सबैले सिकाइको रुपमा लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, लुम्बिनी प्रदेशका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, चैतन्य पाठशालाका प्रबन्धक डा. जिवराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका प्रधानाध्यापक केशवराज आचार्य, अभिभावक मिनराज अधिकारी,सुजन क्याटलिन आचार्य, विद्यार्थी संझना मल्ल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्राचार्य सुष्मा रेग्मी आचार्यले प्रस्तुत गर्नु भएको थियो । सहायक प्रचार्य पशुपति पौडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सहायक बसन्तराज भट्टराई र सुमित्रा थापाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया