काठमाडौंबाट दाङ आउदै गरेकाे बस नवलपरासीमा दुर्घटना

पुर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन्।

 

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शङ्करको मृत्यु भएको हो।

हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए।

काठमाडौँबाट दाङ आउदै गरेको रा १ ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन्। हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। – रासस

तपाईको प्रतिक्रिया