बढ्दै मानसिक समस्या

दशरथ घिमिरे /देउखुरी । बेसरी टाउको दुख्छ । निद्रा पर्दैन । मुटु दुखे जस्तो हुन्छ । केही गर्न सक्दैन कि भन्ने भावना बढेको जस्तो लाग्छ । यस्तै कुरा मनमा खेलिरहने ४५ वर्षीया एक महिला राजपुर गाउँपालिका वडा नं. ३ बेला स्वास्थ्य चौकीमा राखिएको स्वास्थ्य शिविरमा समस्या सुनाउन पुग्नुभयो । सधैं उदास भएजस्तो, खुशी नभेटिएजस्तो लाग्ने उहाँका सबै कुरा मनोरोग विशेषज्ञ डा. अरविन्द भुसालले सुन्नुभयो । अनि डाक्टर भुसालले ती महिलालाई भावनात्मक सञ्चारमा जोड दिनुभयो । आफूलाई लागेको कुराहरु परिवारका सदस्यसँग राख्ने, साथीभाइसँग कुराहरु गर्ने, विश्वास पात्रसँग खुलस्त भन्नका लागि प्रेरित गर्नुभयो । ‘मान्छेले मनमा जब कुराहरु डल्लो पारेर राख्न थाल्छ । तब उसमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन थाल्छ । हाँस्ने, रमाउने, खुशी हुने कुरामा जोड दिनु नै यसको ओखती हो’– डा. भुसालले भन्नुभयो– ‘उपचारमा आएकामध्ये २० देखि ३० प्रतिशत बिरामीमा कडाखालको मानसिक रोगको लक्षण देखिएका थिए । बाँकी बिरामीको हकमा शुरुवाती चरण थियो ।’

 

राजपुर गाउँपालिका वडा नं. ३ का मनोसामाजिक समस्या देखिन थालेका स्थानीयहरुलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जुन शिविरबाट ५३ जना स्थानीयले सेवा लिएका छन् । निःशुल्क औषधि र परामर्श प्रदान गरिएको छ । पछिल्ला दिनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या बढ्दो रुपमा देखा पर्न थालेको छ । पारिवारिक विखण्डन, आर्थिक मन्दी, कोरोनापछिको यो समयमा मानसिक स्वास्थ्यमा गम्भीर खालका समस्याहरु देखिन थालेपछि समुदायस्तरमा जनचेतनाका साथै उपचार सेवालाई शिविरमार्फत अघि बढाइएको हो । मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र दाङले स्ट्रोम फाउन्डेसनसँग सहकार्य गरेर स्वास्थ्य शिविर आयोजना गरेर मनोसामाजिक सेवामा ग्रामीण क्षेत्रका नागरिकको पहुँच बढाउन थालेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमले बताउनुभयो ।

‘मानसिक स्वास्थ्यलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने अवस्था आएको छ । समाज विकासको अवरोधको रुपमा मानसिक स्वास्थ्य देखिन थाल्यो । बेलैमा निदानका उपायहरु खोजिनुपर्छ’– अध्यक्ष गौतमले भन्नुभयो– ‘समुदाय केन्द्रित अभियानहरु चलाउन जरुरी छ ।’

स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर उपचार र परामर्श तथा मनोसामाजिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक योजना बनाउँदै गर्दा अब स्थानीय सरकारले पनि यस प्रकारको रणनीतिक योजना बनाउनुपर्ने देखिएको हो । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले मानसिक स्वास्थ्य र मनोसामाजिक उपचार सेवा सबै नागरिकको पहुँचमा पु¥याउने गरी कार्यक्रम बनाउने बताउनुभयो । स्वास्थ्य चौकी तहबाट पनि उपचार सेवा प्रदान गर्नेबारेमा योजना बनाउने उहाँको भनाइ थियो । ‘मानसिक स्वास्थ्यलाई गलत रुपमा बुझ्नुहँुदैन । यसको उपचार छ’– उहाँले भन्नुभयो– ‘उपचार र परामर्शबाट समस्या समाधान गर्ने बारेमा कार्यक्रम बनाउँछौं ।’

मानसिक तनाव, आत्मविश्वासको कमी, सम्बन्ध बिग्रनु, दुव्र्यसन, नकारात्मक अनुभवलगायतका समस्याले मनोसामाजिक समस्या बढ्दो छ । त्यसमा पनि महिलाहरुमा यसखाले समस्या बढ्दै जाँदा सबैखाले चुनौतीहरुसँग सामना गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष धनपतिदेवी यादवले बताउनुभयो । ‘४५ वर्षभन्दा माथिका महिलाहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको पाइयो । अब उपचार र परामर्श बढाउँछौं’– उहाँले भन्नुभयो– ‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्न जरुरी छ ।’

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निर्देशक प्रदीप मजगैयाँले लोकलाजले गर्दा पनि धेरै मानिसहरु उपचारको लागि जान नसकेको, गाउँघरमा रोग लुकाएर बस्ने गरेको बताउनुभयो । यसका लागि जनचेतना अभिवृद्धिका कार्यक्रम व्यापक बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । ‘समाजमा मानसिक रोगका बारेमा नकारात्मक बुझाइ छ । पहिलो यो बुझाइमा परिवर्तन ल्याउन आवश्यक छ’– उहाँले भन्नुभयो– ‘समुदाय केन्द्रित अभियानहरु व्यापक बनाउन खोजिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालय दाङले पनि पहिचान भएका बिरामीहरुसँग सचेतना कार्यक्रम गरेको छ । मानसिक रोग बढ्दै जाँदा आत्महत्याका घटनाहरु बढ्ने हुँदा रोकथामका लागि सचेतना कार्यक्रम गरिएको डिएसपी ईश्वर थापाले बताउनुभयो । ‘आत्महत्याका घट्ना बढ्नुको पछाडिको कारण भनेको मानसिक स्वास्थ्य बिग्रनु हो’– उहाँले भन्नुभयो– ‘त्यही भएर हामीले यसखाले कार्यक्रम ग¥यौं ।’

मानसिक रोग तथा मनोसामाजिक समस्याबाट बच्नको लागि भावनात्मक सञ्चार, सकारात्मक सोचको विकास, स्वस्थकर जीवनशैली, समाजसँगको सम्बन्ध सुधार गर्ने र पुर्नस्थापनाको कामलाई अघि बढाउनुपर्ने कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले बताउनु भयो । ‘मानसिक स्वास्थ्यलाई सबैले प्राथमिकतामा राख्नुपर्छ’– उहाँले भन्नुभयो– ‘तीन तहका सरकारले उपचार र सेवालाई विस्तार गर्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया