राप्तीमा बजार अनुगमन : अधिकांश पसलमा अखाद्य बस्तु फेला, झण्डै ३ लाख जरिवाना संकलन

 

 

तुल बहादुर कवँर मगर
भालुवाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ ।

राप्ती गाउँपालिका, इलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २,४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको हो ।

३० वटा पसलको अनुगमन गर्दा १७ वटा विभिन्न प्रकृतिका पसल कारबाहीमा परेका छन् । कारबाही स्वरुप ती पसलहरूलाई ५ हजार देखि ५० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ । यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी आवश्यक निर्देशन समेत दिइएको छ ।

आसन्न चाडपर्वमा खाद्य र गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने , कालोबजारी गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, मुल्यसुची नराखेको, उत्पादित बस्तुमा उत्पादन मिति उल्लेख नगरेको , बिलिङ प्रक्रिया नमिलेको १७ वटा पसलबाट २ लाख ९० हजार जरिवाना गरिएको छ  भने १९ वटा पसलबाट ५० हजार ८ सय ३ रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरि नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख विष्णुप्रसाद धितालले जानकारी दिनु भएको छ ।

जरिवना गरिएका पसलका सञ्चालकहरुलाई १ हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंक मार्फत जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिएको निमित्त कार्यालय प्रमुख धितालले बताउनु भयो । दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख विष्णुप्रसाद धितालको नेतृत्वमा भएको बजार अनुगमनमा राप्ती गाउँपालिकाकी  उपाध्यक्ष कमलापति चौधरी, ईलाका  प्रहरी कार्यालय भालुवाङ, राप्ती उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पत्रकार रहेका थिए ।

तपाईको प्रतिक्रिया