किर्ते गरी डिभोर्सको नक्कली कागज बनाएका लुम्बिनीका सांसद केसी कारागार चलान

दाङ–लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)लाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ। जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका केसीलाई सजाय भुक्तानको लागी रुकुम पश्चिम जिल्ला कारागार चलान गरिएको अदालतका नायव सुब्वा ओविराम खड्काले जानकारी दिए।

 

दिउँसो साढे १२ बजे अदालतमा पुगेर केसीले आत्मसमर्पण गरेका थिए। ३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।

हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन्। गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए। त्यसपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरू भएको थियो।

२०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो।

रूकुम पूर्वी जिल्ला अदालतका तत्कालीन शाखा अधिकृत राधाकृष्ण रिजालका अनुसार सोही वर्ष साउनमा जिल्ला अदालतले जिल्ला प्रहरी रूकुम पूर्वमा फैसला कार्यान्वयन हुन बाँकी लगत पठाएको थियो।

तपाईको प्रतिक्रिया