दशरथ घिमिरे

देउखुरी । लमही नगरपालिका वडा नं. ६ निवासी शेरबहादुर चौधरी बर्का अट्वारीमा ब्रत बस्न थालेको धेरै भइसक्यो । हरेक वर्षको अट्वारी पर्वलाई चौधरीले विशेष रुपमा मनाउदै आउनुभएको छ । अन्य पर्वमा चेलीबेटी तथा महिलाहरु ब्रत बस्ने गर्छन् तर यो पर्वमा थारु समुदायका पुरुषहरु निर्जल, निराहर ब्रत बस्ने गर्दछन् । चौधरी पनि निर्जल, निराहर ब्रत बस्दै आउनुभएको हो । ‘थारु समुदायमा बर्का अट्वारीलाई पुरुषहरु ब्रत बसेर सूर्यको पूजा गर्ने परम्परा छ । अहिले पनि हामीले यसलाई निरन्तरता दिएका छौं’– उहाँले भन्नुभयो– ‘थारु समुदाय प्रकृति पूजक हुन् । हामीले प्रकृतिको पूजा गर्दछौं ।’
समय क्रमसँगै चाडपर्व मनाउने र यसको महत्वको बारेमा गरिने चर्चा भने कम हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘जसरी विगतमा यो पर्वलाई धुमधामका साथ मनाइन्थ्यो । अहिले केही कमी आएको हो कि भन्ने लागेको छ’– उहाँले भन्नुभयो– ‘नयाँ पुस्तामा अट्वारीको कला संस्कृति हस्तान्तरण गर्न जरुरी छ ।’ अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन् । ब्रत बसेका ब्रतालुहरुले फलफूल लगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ । यो परम्परा अहिले पनि जीवित छ । थारु समुदाय प्रकृति पूजक भएकाले पर्वहरुको आफ्नै विशेषता र महत्व रहेको पत्रकार तथा साहित्यकार छविलाल कोपिलाले बताउनुभयो । ‘बर्का अट्वारीको महत्व महाभारत र भीमसँग जोडिएको छ’– उहाँले भन्नुभयो– ‘सूर्यको उपासना गर्नु भनेको उज्यालोको कामना गर्नु हो । अन्धकारबाट उज्यालोतर्फ समाजलाई डो¥याउने विषय जोडिएको छ ।’ थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।
थारू समुदायमा बर्का अट्वारी पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका जिल्लाहरू दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईको प्रतिक्रिया