राप्तीमा सयपत्री फूलबाट धुप, मेवाबाट साबुन

दशरथ घिमिरे

 

देउखुरी । राप्ती गाउँपालिका–८ पिपरी निवासी ललिता बुढा मगरलाई सयपत्रीको फूलबाट अगरबत्ती बनाउन सकिन्छ भन्ने थाहा थिएन । त्यही भएर तिहारमा माला बनाएर बचेको फूल त्यसै ओइलाएर खेर जान्थ्यो । अब त्यही सयपत्रीको फूललाई पिसेर धुलो पारेपछि त्यसलाई अगरबत्ती धुप बनाउन थालिएको छ ।

घर छेउमा रहेको नीमको पातलाई गहुँ भण्डारण गर्दा बाहेक अरु बेला प्रयोग गरिएको थिएन । तर अब नीमको पातबाट डल्ले र झोल साबुन बनाइएको छ । पाकेको मेवा धेरै दिन रुखमा टिक्न सक्दैन । पाकेको मेवा बिक्री गर्न नसक्दा खेर जान्थ्यो । तर अब त्यही मेवालाई प्रशोधन गरेर साबुन बनाउन सकिदोरहेछ । ललिताले सयपत्री फूल, नीम र मेवालाई उद्यमसँग जोड्ने अभ्यास गरिरहनुभएको छ ।

‘हाम्रो घर आँगनमा हुने सयपत्रीको फूल, नीमको पात, पाती, मेवाबाट धुप, साबुन बनाउन सकिदोरहेछ’– उहाँले भन्नुभयो– ‘ओइलाएर, सुकेर, गलेर खेर जाने बस्तुलाई पनि उद्यममा जोड्न सके फाइदा लिन सकिदोरहेछ ।’ साँझ विहान घरायसी काममा व्यस्त हुने तर दिउँसो पख समय निकाल्न सक्ने गृहिणी महिलालाई लक्षित गरेर उद्यम विकासको तालिम प्रदान गरेपछि महिलाहरु उद्यममा जोडिन थालेका छन् ।

विष्णु चौधरी पनि स्थानीय कच्चापदार्थ प्रयोग गरेर सामग्री उत्पादन गर्न सकिने भएपछि खुशी हुनुहुन्छ । ‘हामीलाई पहिला कसैले यसरी सिकाएन । हामी परनिर्भर भयौं । अहिले घर आँगनमा पाइने सामग्रीलाई नै दैनिक जीवनसँग जोड्न सकिदोरहेछ’– उहाँले भन्नुभयो– ‘पहिला हातमा सीप थिएन, अहिले हातमा सीप भयो । अनि उद्यम गर्न सक्ने हौसला पनि मिल्यो ।’ राप्तीका महिला र युवा उद्यमशीलतामा पहिला भन्ने नारासहित राप्ती बनाऔं अभियानअन्तर्गत महिलाहरुलाई लक्षित गरेर उद्यमशीलता र आर्थिक विकासका योजनाहरु कार्यान्वयन गरिएको छ ।

स्वीकृत वार्षिक नीति तथा कार्यक्रम उद्यमशीलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका लागि सीप विकास कार्यक्रमअन्तर्गत साबुन, धुप निर्माणसम्बन्धी सीप विकास तालिम प्रदान गरेपछि महिला तथा युवा उद्यमीहरु उत्साहित भएका छन् । एक हप्तासम्म सञ्चालन भएको तालिममा महिलाहरुले १६ प्रकारका सामग्री बनाउने सीप सिकेका हुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले घर आँगनमा पाइने औषधीय गुण भएका सामग्रीलाई उद्यमसँग जोड्न सक्दा त्यसबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । मानवीय विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलता र आर्थिक विकास पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । ‘विकास भनेको बाटो र ठूला घर बनाउनेलाई मात्रै मान्यौं । तर त्यस्तो होइन । स्थानीयस्तरको कच्चापदार्थको प्रयोग गरेर यसलाई आम्दानीसँग जोड्न सक्नु नै उद्यमशीलता हो’– उहाँले भन्नुभयो– ‘स्थानीय जनतालाई उत्पादनसँग जोड्ने, आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर हामी अघि बढेका छौं ।’

स्थानीय उत्पादनलाई बजारीकरणका लागि अवसर सिर्जना भएको भन्दै ढुक्क भएर गुणस्तरीय उत्पादनमा जोडिन आग्रह गर्नुभयो । उपाध्यक्ष कमलापती चौधरीले प्रतिबद्धता अनुसार कार्यक्रमहरु अघिबढेको बताउनुभयो । ‘हामीले जे प्रतिबद्धता गरेका थियौं सोही अनुसार कार्यक्रम बनाएर कार्यान्वयनमा लगेका छौं’– उहाँले भन्नुभयो– ‘यसबाट स्थानीय दिदीबहिनीहरुको आयआर्जन बढ्ने आशा गरेका छौं ।’ प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले राप्ती निर्माण अभियानलाई व्यापक बनाउँदै लगिएको बताउनुभयो । सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले उद्यमीहरुले तयार पारेका सामग्रीको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले उद्यमीहरुको समूह निर्माण गरेर त्यसलाई आधिकारिकता प्रदान गरिने बताउनुभयो । प्रशिक्षक सुस्मिता थापा मगरले उद्यमशीलताबाट नै समृद्धि सम्भव रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया