लुम्बिनीमा चार सदस्यीय मन्त्रीमण्डल गठन, जिम्मेवारी पछि तोकिने

दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार सानो आकारमा मन्त्रीमण्डल गठन गरेका छन्। जिम्मेवारी पछि तोकिने गरी उनले तीन जना मन्त्री थपेर सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्।

 

एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन्। तीनै जना मन्त्रीले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले तीनै जनालाई शपथ ग्रहण गराएका हुन्।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिएको र बाँकी मुख्यमन्त्रीले विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।
बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूको बीचमा लिखित सहमति भएको थियो। तर, पहिलो चरणमा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद मन्त्रीमा नियुक्त हुन पाएनन्।

मुख्यमन्त्रीको विश्वासको मतपछि उनीहरुलाई पनि सरकारमा सहभागी गराउने योजना छ। जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सहमति भएको थियो। साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया