लौरियट्स एण्ड लिडरर्स’को शिखर सम्मेलनबारे सरकारद्वारा सदनलाई जानकारी, प्रतिपक्ष एमालेले उठायो प्रश्न

दशरथ घिमिरे

 

दाङ–लुम्बिनी प्रदेश सरकारले ‘लौरियट्स एण्ड लिडर्स’ चौथो शिखर सम्मेलनबारे संसदलाई जानकारी गराएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिको रुपमा गृहमन्त्री सन्तोषकुमार पाण्डेले अहिलेसम्म उठेका प्रश्नको जवाफ दिँदै शिखर सम्मेलन संघीय सरकारको निर्णयको आधारमा प्रदेश सरकारले आयोजना गर्न थालेको जानकारी दिएका छन्। ११ जना नोबेल पुरस्कार विजेताहरु आउने पक्कापक्की भएको जानकारी दिदै शिखर सम्मेलनको बारेमा बाहिर प्रचार गरिएका बिषयहरु भ्रमपूर्ण रहेको दावी गरे।

‘१० मार्चको कुरा आयो कहीँ न कहीँ। कुरा गर्दा खेरी दलाई लामाको कुरा आए। कोही कोही पत्रकार सोध्धिए हामीलाई। उनले विद्रोह गरेको दिन १० किन पर्‍यो भन्ने कुरा। यहाँहरुलाई हामी के जानकारी गराउन चाहन्छौं भने नेपालको स्वतन्त्र भूमिमा छौं। कल्पनानै नगरेको कुरा हो’उनले भने,‘मार्च ११ र १२ अर्थात फागुन २८ र २९ गते सम्मेलन गर्न गराईखेका छौं।’

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले शिखर सम्मेलन गर्न थालेको सदनलाई जानकारी गराईएको छ। गृहमन्त्री पाण्डेले‘लुम्बिनी बाैद्धिष्टहरुको लागि मात्रै होइन, हाम्रो लागि पनि हो। आर्थिक समृद्धिका लागि हो।’

सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा समेत शिखर सम्मेलनको बिषय समेटेको थियो।‘यो बिषय सदनमा आएको कुरा हो। सरकारले नीति तथा कार्यक्रमको माध्यमले सदनमा आइसकेको हो। कुनै व्यक्ति तथा दलले ल्याएको कुरा होइन। सरकारले ल्याएको बिषय हो’उनले भने,‘अन्तराष्ट्रिय कुटनीतिकको नेतृत्व सिंगो देशले गर्दै छ। शीर्ष नेताहरुले गर्दै हुनुहुन्छ।’

नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीले नेपालमा आएको बेलामा शिखर सम्मेलनको बारेमा शिर्ष नेतृत्वहरुसँग भेट गरेर कार्यक्रमबारेसमेत जानकारी गराएको गृहमन्त्री पाण्डेले सदनमा बताएका छन्।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेसनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले शिखर सम्मेलनबारे धेरै प्रश्न उठाएको छ। प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिखर सम्मेलनको बारेमा सरकारकै कारण गम्भीर संवेदनशील बिषय खडा भएको टिप्पणी गरेका छन्।‘सुरुमा पर्यटन प्रबद्र्धनको निम्ति भनियो। अहिले बालबालिकाको नाम जोडिएको छ।

विकासको नाम जोडिएको छ। शान्तीको नाम जोडिएको छ। सुरुमा यो कार्यक्रम मार्च १० देखि मार्च १२ सम्म गर्ने भनियो’, उनले भने, ‘दलाई लामा संलग्न भएको संस्थाको कार्यक्रम ल्याएर हाम्रो चीनसँगको परम्परागत सम्वन्धलाई चुनौती दिन खोजिएको हो, के गर्न खोज्नु भएको हो मुख्यमन्त्रीले। सदनलाई समेत जानकारी नदिएर दुई पटक सम्म भारतको र एक पटक अमेरिकाको भ्रमण गर्नुभयो। सदन नचलेको बेलामा होइन, सदन चलेकै बेलामा दिल्लीको भ्रमण गर्नुभएको छ। मुख्मन्त्री जस्तो व्यक्तिले संसदलाई गुम्राहमा पार्न पाइन्छ? ’

तपाईको प्रतिक्रिया