लमही बसपार्कमा बनेका टहरा खाली गराइयो

दशरथ घिमिरे

 

दाङ–लमही बसपार्कको केही भाग अतिक्रमण गरेर बनाइएका टहरा हटाइएको छ। टहरा निर्माण गरेर चिया तथा खाजा पसल सञ्चालन गरिएको थियो।

लमही नगर विकास समितिले टहरा खाली गराएको जनाएको छ। सुरक्षा निकायको साथ लिएर करिब ३२ वटा टहरा खाली गराइएको छ। बसपार्क भित्रको एउटा किनारमा आफुखुसी टहरा निर्माण गरेकाहरुलाई व्यवस्थीत गर्न नगर विकास समितिले त्यहाँबाट हटाएको अध्यक्ष जोगराज चौधरीले बताए। वसपार्क क्षेत्रमा नगर विकास समितिले व्यवस्थीत सटर निर्माण गरेको छ।

ती सटर भाडामा लागेका छैनन्। टहरामा व्यसाय गर्दै आएकाहरुले आफुहरु व्यवस्थित रुपमा व्यवसाय गर्न चाहेको, जसका लागी सटर भाडामा आफूहरुले पाउनुपर्ने, बीचमा रहेको‘विचौलिया’ हटाउनुपर्ने माग समेत राखेका छन्। ‘कस्लाई रहर होला झुपडीमा बस्ने। बाध्यताले त्यहाँ पुर्‍यायो। हामी बाधक बन्न चाहदैनौं। तर, हामीलाई महंगो सटर चाहिएन। बीचमा भाडा लगाउने विचौलिया हुनुभएन’व्यवसायी खिमा मल्लले भनिन्,‘लमहीको सुन्दरता हामी पनि चाहन्छौं। तर, यो लमहीले हामीलाई पनि बस्ने र बाँच्ने अवसर दिनुपर्‍यो।’ केही व्यवसायी नगर विकास समितिले बनाएको सटरमा समेत सरेका छन्।

एक बर्ष अघी टहरा खाली गर्ने सम्झौता भएपनि यहाँ व्यवसाय गर्नेहरुले खाली नगरेपछी नगर विकास समितीले एक महिने सूचना प्रकाशन ग¥यो। त्यो समयमा पनि नहटेपछी सात दिने सूचना जारी गर्‍यो। सूचनाको म्याद पुगेको दिन विहिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधी, कर्मचारी सहितको टोली वसपार्क पुगेको थियो।

नगर विकास समितिले ठेलामा व्यवसाय गर्नेहरुलाई यसअघि नै ५८ वटा टहरा निर्माण गरेर भाडामा लगाएको छ। यस्तै अन्य व्यवसायीक भवन निर्माण गरेर मासिक भाडामा लगाएको छ। बसपार्कमा टर्मिनल भवन निर्माण गरेर वस काउन्टर र व्यवसायका लागि सटर भाडामा लगाउने तयारी गरेको छ। पूर्व –पश्चिम राजमार्गमा आवतजावत गर्ने वसका यात्रुले चिया खाने ठाउँ लमही बसपार्क हो। यहाँ २४ घण्टा चिया पसल खुल्दै आएका थिए। लमहीको चाट र चिया प्रख्यात छ।

तपाईको प्रतिक्रिया