समुदायमा आधारित उद्यम, व्यवसायमा लगानी बढाऔंः मुख्यमन्त्री चौधरी

दशरथ घिमिरे

 

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समुदायमा आधारित उद्यम, व्यवसाय अहिलेको आवश्यकता भएको बताउनुभएको छ । लमहीमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौं सभालाई सम्बोधन गर्दै उहाँले समुदायलाई उत्पादनसँग जोड्दै उद्यम र व्यवसायको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले कच्चा पदार्थको व्यवस्थापन, बजार र ब्राण्डिङको जिम्मा सरकार एवं निजी क्षेत्रले लिनुपर्ने, उत्पादनमा समुदायलाई जोड्न सके मात्रै समग्र विकास हुने धारणा राख्नुभएको थियो । उहाँले समुदायको विशेषताको आधारमा उत्पादन क्षेत्र तोकिनुपर्ने पनि बताउनुभयो ।

लुम्बिनी प्रदेश हिमाल, पहाड र तराई गरेर तीन भागमा बाँडिएकाले एक ठाउँको उत्पादन अर्काे ठाउँमा पु¥याउन सक्नेगरी प्रदेशले कार्यक्रम अघि सारेको बताउनुभयो । ‘हामी अब जहाँ पर्यटन जान चाहन्छन् त्यहाँसम्म सडक बनाउँछौं । जहाँ कृषि उत्पादन हुन्छ त्यहाँ सडक पु¥याउँछौं । जहाँ उद्योग हुन्छ त्यहाँ विकासको कार्यक्रम ल्याउँछौं’– उहाँले भन्नुभयो– ‘सानो–सानो मोडेल भन्दा अब बृहत मोडेलमा अघि बढ्छौं ।’ यस्तै मुख्यमन्त्री चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ गरेर अरु देशमा निर्यात गर्ने र समुदायमा आर्थिक बृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको सुनाउनुभयो । नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पु¥याउन आफुले पहल गरिरहेको बताउनुभयो । ‘थारुहरुले जिन्दगीभरी जाँड बनाए । अहिले कोरियन जाँड यहाँ ल्याएर बिक्री भइरहेको छ’– उहाँले भन्नुभयो– ‘तीनवटा देश जाँडको लागि राम्रो एउटा कोरिया, एउटा भुटान अनि एउटा हाम्रो देश नेपाल । हामीले बेचेको जाँड संसारभरी जानुपथ्र्याे । हाम्रो सीप त त्यसैमा थियो नि त तर हाम्रो देश त्यता पनि लागेन । व्यापारी पनि त्यता लागेनन् ।’

स्थानीय उत्पादन बढाउन नसक्दासम्म मुलुक समृद्ध हुन नसक्ने उहॉँको भनाइ थियो । ‘उद्योगी व्यवसायीसँग हामी सँगसँगै हिड्न चाहन्छौं । तपाईंहरुसँग अन्तरक्रिया गर्न, छलफल गर्न प्रदेश सरकार जहिले पनि तयार छ’– उहाँले भन्नुभयो– ‘उत्पादनलाई समुदायसँग जोड्नेगरी कार्यक्रम बनाएका छौं । यसमा सबैको साथ सहयोगको खाँचो छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय उत्पादन बढाउन सरकारीस्तरबाट वातावरण तयार हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरु अहिले पलायनको अवस्थामा पुगेको र उनीहरुलाई लक्षित गरेर समेत कार्यक्रम बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । ‘व्यवसायी पलायन हुन थाले । उनीहरुलाई आकर्षित गर्नेगरी सरकारले कार्यक्रम ल्याउनुप¥यो’– उहाँले भन्नुभयो– ‘कोभिडपछि व्यवसाय क्षेत्र उठ्नै नसक्नेगरी थलियो । यसलाई बचाउने जिम्मेवारी सबैको हो ।’ नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्रीकृष्ण बैद्यले ३० प्रतिशत उद्योग नचलेको, त्यसको असर राजश्व संकलनमा पर्ने बताउनुभयो । उद्योग तथा व्यवसयायलाई टिकाई राख्न राज्य क्षेत्रबाट समेत ध्यान पुग्नुपर्ने उहाँको भनाइ थियो । ‘उद्योग धन्दा चलेका छैनन् । राजश्व संकलनको अवस्था कमजोर छ । यस्तो अवस्थामा विकास निर्माणको काम कसरी अघि बढ्छ भन्ने अर्काे चुनौती छ’– उहाँले भन्नुभयो– ‘सरकारले निजी क्षेत्रको विकासको लागि वातावरण बनाउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले संकटको सामना गरिरहेको उल्लेख गर्दै सरकारले अघि बढाएका महत्वपूर्ण आयोजनालाई सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘लुम्बिनीलाई हेरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । उडान हुँदैन । यस्तो अवस्थामा अब प्रदेशले आफ्नै एयरलाइन्स खडा गरेर यहाँबाट उडान भर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘यति मात्र होइन स्थानीय उत्पादन नबढाउँदा सम्म हाम्रो ठाउँको विकास हँुदैन ।’

निजी क्षेत्रको सुझाव

लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी दोस्रो आवधिक योजना बनाउन थालेको छ । सो आवधिक योजनामा समेट्ने विषयहरुको बारेमा निजी क्षेत्रसँग छलफल गरिएको छ । प्रदेश योजना अयाोगले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरेर आवधिक योजनाबारे छलफल गरेको हो । जुन छलफलमा प्रदेशको समग्र विकासको योजना निर्माण गरेर त्यसको कार्यान्वयनमा जोड दिइएको छ ।

योजना बनाउँदा राम्रो बन्ने तर कार्यान्वयनमा पुग्दा फितलो र उपलब्धिहीन हुने जस्ता समस्याहरु विगतमा भोगिएकाले यसपालिको आवधिक योजना वास्तविकतामा आधारित हुनुपर्ने सुझाव दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उत्पादन बढाउँदै आर्थिक गतिविधि बढाउने विषयहरु आवधिक योजनामा आउनुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोख्रेलले आर्थिक विकास र समृद्धिको मुल विषयहरु आवधिक योजनामा समेट्न सुझाव दिनुभयो । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नेत्रप्रसाद पाठकलगायतले उद्योग व्यवसाय बढाउनेगरी कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले निजी क्षेत्रको सहकार्यमा बजार र ब्राण्डिङको काम अघि बढाउनेगरी योजनामा राख्ने बताउनुभयो । ‘निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै बजारको काम गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘सरकार एक्लैले गर्न सक्दैन । निजी क्षेत्रको साथ सहयोगको खाँचो पर्छ । त्यही आधारमा योजना बनाउँदैछौं ।’ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको विकासको मोडेल आवधिक योजनामा समेटिने र त्यसलाई वार्षिक योजनाको रुपमा समेत अघि बढाउने जानकारी दिनुभयो । उद्योगी व्यवसायीका समस्याहरु सरकारले नजिकबाट बुझेको र समाधानको लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल अहिरले प्रदेशको आफ्नो पहिचान झल्किने गरी आवधिक योजनाबाट लक्ष्य निर्धारण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा योजना आयोगका सदस्य डा. सुदनकुमार वली, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालले आवधिक योजनासँग जोडिएका विषयमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण योजना आयोगका सदस्य गीता केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया