
वीरगञ्ज । दिदि कै घरमा भाइको हत्या भएको छ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या भएको हो । प्रहरीले राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवी रहेको प्रहरीले जनाएको छ ।
राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
राजेशको शव जेठ २८ गते बिहान ११ः१५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा फेला परेको थियो ।
राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरेका थिए ।
उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका ५ जना सदस्य नै संलग्न भएको प्रहरीको अनुमान छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया