दाङमा बालिकालाई यौन दुर्व्यवहार गर्न उक्साएको आरोपमा तीन पक्राउ

दशरथ घिमिरे

 

दाङ – दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न उक्साएको आरोपमा मतियारसहित तीन जना पक्राउ परेका छन्।

राजपुर गाउँपालिका–७ सिक्टा निवासी ४३ वर्षीय सुकवीर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षका दुई जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए।

सुकवीरले चार जना बालकलाई ती बालिकालाई जबरजस्ती करणी गर्न उक्साउने भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाइएको छ भने सुकवीर र अन्य २ जनालाई जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटना पुस २२ गतेको हो।

प्रहरीमा बालिकाको परिवारको तर्फबाट उजुरी परेपछि संलग्नहरुको पहिचान गरेर नियन्त्रणमा लिइएको र अहिले अनुसन्धानको काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

‘घटना अनुसन्धानको क्रममा छ। इलाका प्रहरी कार्यालय गढवामा मुद्दा छ। अदालतमा म्याद थप गरेर अनुसन्धानको काम अघि बढेको छ,’ मल्लले भने,‘दोषी देखिएकाहरुमाथि कानुनी कारबाही हुन्छ।’

तपाईको प्रतिक्रिया