नव निर्मित विद्यालय भवनको प्रदेश संसद थारु द्वारा उद्घाटन

 

 

तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ९ तल्लो घोसखोलामा रहेको बाल प्रगति प्राथमिक विद्यालयको नव निर्मित ४ कोठे पक्की भवनको मंगलबार उद्घाटन गरिएको छ।

भवनको लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भौतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो।

उक्त उद्वाटन कार्यक्रममा बोल्दै संसद थारुले आधुनिक समाजको बलियो जग बसाल्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सबै नागरिकहरु शिक्षित भए मात्रै देश सम्बृद्व र समुन्नत हुने बताउदै संसद थारुले संविधानमा उल्लेखित माध्यमिक तह सम्मको शिक्षा पूर्ण रुपमा निस्शुल्क हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाँले राजतन्त्रको पालामा र गणतन्त्र आइसकेपछिको शिक्षाको अवस्थाको बारेमा चर्चा गर्दै गणतन्त्र आए पछि भएका हरेक परिवर्तनलाई आत्मसात गर्नु पर्ने बताउनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर कायम गर्न भौतिक पूर्वाधारको समेत ठुलो भूमिका हुने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले संविधानमा उल्लेख भए बमोजिम पालिकाले माध्यमिक तह कक्षा १० सम्म पूर्णरूपमा निःशुल्क शिक्षा लागू गरेको बताउदै शिक्षा निःशुल्क मात्रै नभएर गुणस्तरीय र व्यावहारिक पनि हुनु पर्ने कुरामा जोड दिनु भयो ।

विद्यालय भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा करिब ३६ लाख लागतमा निर्माण सम्पन्न भएको हो।

कक्षा ४ सम्म पढाइ सञ्चालन भएको उक्त विद्यालयमा एक कार्यालय सहयोगी सहित ४ शिक्षकहरु कार्यरत रहेका छन् भने ७५ जना विद्यार्थीहरुले अध्यनरत रहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर कवर योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका संसद इन्द्रजित थारुको प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी,वडा नं. १ का वडा अध्यक्ष गेम बहादुर खड्का , वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चौधरी, वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ , वडा नं. ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायत स्थानीय अभिभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

विद्यालयकी शिक्षिका सरिता भट्टराईको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक गोविन्द चौधरीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया