देउखुरी उद्योग बाणिज्य संघको तीन बर्षे योजना प्रस्तुत, व्यवसायीको वर्गिकरण र क्षमता अभिवृद्धि पहिलो प्राथमिकता

दाङ– देउखुरी उद्योग बाणिज्य संघले तीन बर्षे कार्ययोजना प्रस्तुत गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले तीन बर्षे कार्ययोजना प्रस्तुत गर्दै व्यवसायीको वर्गिकरण गरेर क्षमता अभिवृद्धि गर्ने योजनालाई प्रमुखताका साथ उठाएका छन् । ‘हाम्रा व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्दै उहाँहरुको वर्गिकरण गर्ने, विवरणहरु राख्ने काम गर्नेछौं’उनले भने,‘व्यवसायीहरुले भोग्दै आएका समस्यालाई समाधान गर्न प्रशिक्षणहरु चलाउने छौं । यस बाट व्यवसायीहरुमा नयाँ उर्जा पलाउने छ ।’

 

लमही बजार क्षेत्रलाई व्यवस्थीत बनाउन स्थानीय सरकार संग सहकार्य गरिने भएको छ । बजार क्षेत्रमा रहेको अटो भिलेजलाई व्यवस्थापन गर्ने, तरकारी विक्रि वितरण गर्ने कार्यलाई व्यवस्थीत गर्दै निश्चित ठाउँमा किसान मैत्री तरकारी हाटबार राख्ने, बधशालालाई व्यवस्थीत गर्ने योजना प्रस्तुत गर्नु भएको हो ।

यस्तै ‘वान भिलेज वान प्रोडक्ट’को कार्यक्रमलाई लागु गरिने भएको छ । स्थानीय उत्पादीत सामाग्रीको उत्पादन बढाउदै त्यसको बजारीकरणमा समेत उद्योग बाणिज्य संघले पहल लिने भएको छ ।‘हाम्रो स्थानीय उत्पादन र त्यसको पहिचानलाई सबै माझ पु¥याउन चाहन्छौं । बधिया भाले, थारु खाना र हस्तकलालाई प्राथमिकता दिन्छौं’अध्यक्ष ठकुरीले भने,‘फुड एक्स्पो लगायतका कार्यक्रम गर्ने योजना छ ।’

उद्योग बाणिज्य संघको दिर्घकालीन स्रोत वृद्धि र संस्थागत विकासको लागी एक सय जनालाई अजिवन सदस्यता दिने लक्ष्य राखिएको छ । जसबाट दश लाख रुपैयाँ जम्मा हुने र त्यसलाई कोषको रुपमा स्थापना गर्ने योजना छ । ‘व्यवसायीलाई समस्या प¥यो सहयोग गर्न स्रोत छैन् । अव आजिवन सदस्यता वितरण गरेर कोष खडा गर्छौं’उनले भने,‘कोषको व्याजबाट व्यवसायीहरुलाई विपद् पर्दा सहयोगको रुपमा फर्काउछौं ।’

नेपाल उद्योग बाणिज्य महासंघले पहिलो पटक देउखुरी उद्योग बाणिज्य संघको कार्यकौशल अभिवृद्धि तथा भावी योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको हो । महासंघको कार्यालयमा आयोजना गरिएको कार्यशालामा उद्योग बाणिज्य संघका पदाधिकारी, सदस्य र सल्लाहकारगरी १४ जनाको सहभागीता थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा जिल्ला नगर सभापती सुरकृष्ण वैद्यको अध्यक्षतामा कार्यशाला भएको थियो । सो अवसरमा नव निर्वाचित पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।

महासंघको तर्फबाट वैद्यले देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीलाई महासंघको पिन समेत लगाईदिएका थिए । कार्यशालामा प्रशिक्षक उत्तम झाँ, महासंघका उपनिर्देशक माधव मुल्मीले प्रशिक्षण दिए ।

तपाईको प्रतिक्रिया