दाङ – शनिबार बिदा। दिउँसो फुर्सदको समय थियो। तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा निवासी ४२ वर्षीया रिता लामिछाने घरको पिँढीमा बत्ती कातेर बसिरहेकी थिइन्।

गाउँमा हल्ला सुनेपछि उनी जुरुक्क उठेर हल्ला भएको ठाउँतिर पुगिन्। अली पर बाटोमा पुग्दा उनीमाथि एक्कासी खुकुरी प्रहार भयो। उनलाई हेक्का पनि भएन आफूमाथि आक्रमण हुन्छ भनेर। बाटोमा के भयो भनेर हेर्न पुगेकी रिता मृत्युको मुखमा पुगिन्।
खुकुरी प्रहार हँुदा उनको घटनास्थलमै मृत्यु भयो। रितालाई खुकुरी प्रहार गर्ने तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा निवासी ४२ वर्षीय टेकबहादुर हमाललाई प्रहरी पक्राउ गरेको छ।
प्रहरी हिरासतमा रहेका हमालले बयान फेरिरहेका छन्। कहिले देउता चढेको बयान दिन्छन् भने कहिले बिनाकारण हत्या गरेको बताउने गरेका छन्। प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले बताए।
‘बयानमा कहिले के भनिरहेका छन् कहिले के भनिरहेका छन्’, डिएसपी पोख्रेलले भने, ‘मैले गल्ती गरे नि भनेर पनि भन्छन्।’ अदालतबाट म्याद थप गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गर्नुको खास कारण प्रहरीले फेला पार्न सकेको छैन।
कारण पत्ता लगाउन प्रहरीले सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। टेकबहादुर करिब साढे दुई महिनाअगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका थिए। उनी रोजगारीको सिलसिलामा भारत गएका थिए।
टेकबहादुरले रिता मात्रै नभई बाटोमा हिँड्दै गरेकालाई खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट उनका छिमेकी आमाछोरा घाइते भएका छन्। तुलसीपुर–११ बेलटाकुराकै ६६ वर्षीय कमलाकुमारी हमाल र उनका ४५ वर्षीय छोरा बीरबहादुर हमाल घाइते भए।
उनीहरूलाई टेकबहादुरले बाटोमा हिँड्ने क्रममा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बयान दिएका छन्।
घाइते कमला कुमारीको बाँकेमा उपचार भइरहेको छ भने उनका छोरा वीरबहादुर प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया