दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या, दुई जना घाइते

दाङ – दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

 

शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षिय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा तुलसीपुर–११ कै ४३ वर्षकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए।

आफ्नै घरअगाडि उभिरहेको अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय वृद्धा कमला कुमारी हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ।

साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई निजकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया