लुम्बिनीका मुख्यमन्त्रीसँग राउटेको मागः सरकारले हामीलाई दशैँ खर्च दिनुपर्‍यो

देउखुरी । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन्। बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो।

 

राउटे शाहीले सरकारसँग दशैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशैँ खर्च दिन आग्रह गरेका छन्।

‘अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्‍यो, उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनुपर्छ। सबै मत्रीहरूले हामीलाई दशैँ खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ’, शाहीले भने, ‘खसी किन्न पैसा चाहियो।’

आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताए। उनीहरु दैलेखबाट मंगलबार राती दाङको देउखुरी आएका थिए ।

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए। दशैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने उनको भनाइ छ।

‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भने,’ २/३ दिनमा सरकारको केही सहयोग हुन्छ।’

भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया