धानमा फड्के किराको प्रकोप, राप्ती गाउँपालिकाका किसान चिन्तामा

दशरथ घिमिरे

 

देउखुरी । धानको पात पहेंलो हुँदै गयो । शुरुमा एक दुईवटा बोट पहेंलिएका थिए । तर पछि खेतभरिकै धान पहेंलो बन्यो । धान पसाउने बेलामा खेतभरिको धान पहेंलो भएर कुहिएपछि राप्ती गाउँपालिका–५ का किसान मदन पोख्रेललाई छट्पटी छुटेको छ । वर्षभरि खान पुग्ने धान खेतमै कुहिएपछि उहाँको परिवार समस्यामा परेको छ । ‘४० वर्ष देखि खेती हुँदै आएको खेतमा पहिलो पटक रोग किराको प्रकोप देखियो । कृषि प्राविधिकको सल्लाह अनुसार उपचार गर्दा पनि रोग किरा नियन्त्रणमा आएन’– किसान पोख्रेलले भन्नुभयो– ‘पराल पनि काम नलाग्ने गरी सुक्यो ।’ धान पसाउने बेलामा रोग किराको प्रकोपबाट क्षति भएपछि थप समस्या भएको छ । ६ कट्ठामा रोपिएको धान सुकेर पराल बनेको छ । शुरुमा एउटा कुनामा देखिएको रोग पछि खेतभरि नै फैलिएको थियो । ‘अहिलेसम्म धान खेतमा यस्तो समस्या आएको थिएन । यो पटक खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो । विगत वर्षमा गोरखनाथ धान रोप्ने गरेको थिएँ’– उहाँले भन्नुभयो– ‘यो पटक सावाँ मन्सुली रोपेको तर सबै चौपट भयो । धानका बोट सबै सुकेर पराल बनेका छन् । पराल पनि गाईवस्तुलाई खुवाउन मिल्दैन । किराले असर गरेको छ । त्यसमा विषादी पनि छरेको छ । सबै बर्बाद भयो ।’

मदन पोख्रेलको खेतमा फड्के किराको असरले क्षति भएको पुष्टि भएको छ । स्थानीय सरकार राप्ती गाउँपालिकाले किसानको खेतमै पुगेर नमूना संकलन गरेको थियो । संकलन गरिएको नमूनाका आधारमा फड्के किरा अर्थात राइस होपरको प्रकोप पुष्टि भएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सीमा भट्टले जानकारी दिनुभयो । राप्ती गाउँपालिकाको वडा नं. १, २, ५, ७ मा फड्के किराको प्रकोप देखा परेको छ । जसले किसानलाई धान बाली भिœयाउने बेलामा समस्या थपेको छ । धानका बोट पहेंलो हुन थालेपछि पालिकाले प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको जनाइएको छ । ‘फड्के किराले गर्दा धानको बोट मर्न थालेको सूचना हामीसँग आइपुगेको छ’– कृषि शाखा प्रमुख भट्टले भन्नुभयो– ‘यो प्रकोप अन्यत्र नसरोस् भन्नेमा सबै सचेत हुन जरुरी छ ।’

राप्ती गाउँपालिका वडा नम्बर ७ का रामचरण चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखा परेको बताउनुभयो । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको बताउनुभयो । कृषि प्राविधिकसँगको सल्लाहमा विषादी छर्केर उपचार गरिरहेको जानकारी दिनुभयो । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिगाहभन्दा बढी क्षेत्रको धान बाली पहेंलो भएर सुक्न थालेको छ । शुरुमा धानको बोटमा तल्लो भागका पातहरु र पछि माथिल्ला पातहरु समेत पहेंलिदै जाने, विरुवाहरु गाँजिन र बढ्न नसक्ने र पछि पूरै बोटहरु डढेलो लागे जस्तो गरी मर्ने गरेका छन् । ‘धान उत्पादक किसान समस्यामा छन् । तर सरकारको ध्यान पुगेको देखिदैन’– सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले भन्नुभयो– ‘धानबालीमा भएको क्षतिको आधारमा किसानलाई राहत र क्षतिपूर्ति सरकारले दिनैपर्छ ।’

यसरी पु¥याउँछ क्षति

धानबालीको मुख्य शत्रु जीवका रूपमा रहेको फड्के किरा धानको पात र आधारमा रस चुसेर खाई धान बालीलाई नोक्सानी पु¥याउँछ । धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गरेका किराले धान बालीलाई पुरै सखाप पार्ने गरेको छ । धान बालीमा सामान्यतया तीन किसिमका फड्के किराहरुले क्षति गर्ने गरेका छन् । खैरो फड्के, हरियो फड्के र सेतो पिठ्युँ भएको फड्के किरा नै धानको प्रमुख शत्रु जीव रहेका छन् । खैरा, हरिया वा सेता रंगका उफ्रने किसिमका मसिना भुसुना जस्ता कीराहरु धानको गाँजको फेदमा बसेर पात र फेदबाट रस चुसेर खाइ नोक्सानी गर्दछन् । धान खेतमा पानीको सतह भन्दा माथिको डाँठको भागमा यी कीराहरुले निकालेको चिपचिपे पदार्थले गर्दा कालो ढुसी देखिन्छ । फड्के कीराहरुले धानबालीमा ठूलो क्षति पु¥याउनुको साथै टुङ्ग्रो, ग्रासी स्टण्ट र रेग्ड स्टन्ट जस्ता भाइरसजन्य रोगहरु समेत सारेर बालीलाई नोक्सान पु¥याउने गरेका छन् ।

राप्तीको प्रकोप पहिलोः ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्रले राप्ती गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक भएको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहॉँको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउन सकिने बताएको छ । फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखा पर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

देउखुरी क्षेत्रमा देखा परेको समस्याका बारेमा ज्ञान केन्द्रलाई आइतबार मात्रै औपचारिक जानकारी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फड्के किराको प्रकोप बढ्दै गएको हुँदा प्राविधिक टोली पठाई प्रकोप रोकथाममा सहयोग गरिदिन अपिल गरेको पत्र ज्ञान केन्द्रमा पुगेको छ । पालिकाले तत्काल थप प्राविधिक टोलीबाट प्रकोप क्षेत्रको अनुगमन गरी रोकथाम नगरिए स्थिति भयावह हुनेतर्फ पनि सचेत गराएकाले आफूहरु यस बारेमा बुझ्ने तयारीमा रहेको कृषि प्रसार अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया