रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।

जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।
सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो। सोही दिन राति विष्टले छोरीलाई जन्म दिनुभएको थियो तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।
सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए।
शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ। शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो।
गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो। सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो। अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए।

तपाईको प्रतिक्रिया