दशरथ घिमिरे

दाङ- लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको बारेमा सुझाव माग गरिएको छ।
प्रदेश मामिला तथा कानुन उपसमितिले विचाराधीन निजामती कर्मचारी विधेयक २०८० का सम्बन्धमा ७२ घण्टाभित्र उपयुक्त सुझाव दिन आह्वान गरेको छ।
विभन्न ७ वटा विषय तोकेर सुझाव माग गरिएको छ। निजामती सेवा समूह विभाजन, कर्मचारी भर्ना प्रकृया, कर्मचारी बढुवा सम्वन्धमा, कर्मचारी कार्यक्षमता र कार्यसम्पादन मूल्यांकन सम्वन्धमा, कर्मचारी अवकास सम्वन्धमा, कर्मचारी आचरण सम्वन्धमा र कर्मचारीको आधिकारीक ट्रेड यूनियन सम्वन्धमा सुझाव दिन आग्रह गरिएको हो।
३४ जना प्रदेशसभा सदस्यले विधेयकमा संशोधन दर्ता गराएका छन्। लामो समयपछि आएको यस विधेयक पारित भएमा हाल प्रदेशमा देखिँदै आएको नीजामती कर्मचारीको समस्या समाधान हुने अपेक्षा गरिएको छ तर, यस विधेयकमा गम्भीर छलफल गरेर टुंगोमा पुर्याउन सांसदहरूको जोड छ। विधेयकभित्र निजामती कर्मचारीसंग जोडिएका थुप्रै विषयहरू छन्। ती विषय छलफलमा आउने क्रममा छन्।
सभाले प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलका लागि विधेयक पठाएको छ। विषयगत समितिले प्रतिवेदन निर्माण गर्न उपसमिति निर्माण गरेको छ। प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल गरेर प्रतिवेदन निर्माण गर्नेछ।
प्रतिवेदन समितिमा बुझाउने र समितिमा दफावार छलफल हुने उपसमितिका संयोजक श्रेष्ठले बताए। सबै पक्षसँग राय सुझाव लिन ७२ घण्टाको समय दिइएको जानारी दिए। सो क्रममा आउने सुझावहरूलाई पनि अध्ययन गरिनेछ।

तपाईको प्रतिक्रिया