बालक मृत्यु प्रकरणः आक्रोशित आफन्तले लमही घोराही सडकखण्ड अवरुद्ध पारे

दशरथ घिमिरे

 

दाङ – घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले घोराही–लमही सडक अवरूद्ध पारेका छन्।

बिहीबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन गरिरहेका मृतकका आफन्तले शुक्रबार दिउँसोदेखि सडक अबरूद्ध गरेका हुन्। छारे रोगका बिरामी घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो।

एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको ज्यान गएको आफन्तको आरोप छ।

नेपालीलाई अक्सिजन सिलिन्डरसहित एमआरआई कक्षमा लगिएकोमा एमआरआईको चुम्बकले सिलिन्डर तानेको थियो। सिलिन्डर एमआरआई मेसिनमा टाँसिन पुग्दा मेसिनमा क्षति पुगेको छ। यसबाट बालकलाई असर परेर मृत्यु भएको परिवारको दाबी छ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले भने सिलिन्डरलाई चुम्बकले तानेको भए पनि बालकलाई कुनै पनि चोटपटक नलागेको बताए। नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको उनले दाबी गरे। मृतकका आफन्तले सडक अवरूद्ध गर्नुका साथै प्रहरीको गाडीमा तोडफोडसमेत गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। मृतकका आफन्तसँग छलफल भैरहेको र सडक खुलाउने प्रयास जारी रहेको उनले जनाए।

तपाईको प्रतिक्रिया