दशरथ घिमिरे

देउखुरी । गत असोज १८ गते भारी वर्षात भयो । राप्ती र बबई नदीमा आएको बाढीले वितण्डा मच्चायो । जिल्लामा एक हजार चार सय ७२ घरमा क्षति पुग्यो । एक हजार पाँच सय ८५ जना विस्थापित हुन पुगे । दुईजनाको बाढीमा परेर मृत्यु भयो भने सात करोड ५९ लाख ८० हजार चार सय ७० रुपैयाँको क्षति भयो । यस वर्ष पनि मनसुन शुरु हुन थालेको छ । जसले गर्दा मनसुनजन्य विपत् पूर्वतयारी शुरु भएको छ ।
दाङसहित लुम्बिनी प्रदेशका १२ जिल्लालाई लक्षित गरेर मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारीमा जुटेको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुम पूर्वका जिल्लाहरु पहिरोको जोखिममा छन् । यस्तै रुपन्देही, दाङ, बाँके, बर्दिया जिल्लाहरु बाढीको जोखिममा छन् । हरेक जिल्लाको मनसुनजन्य विपतलाई विश्लेषण गरेर प्रतिकार्य योजना निर्माणमा सरोकारवाला निकाय जुटेका हुन् । स्थानीय, प्रदेश र केन्द्र सरकारका निकायहरु मनसुनजन्य विपत् व्यवस्थापन गर्न प्रतिकार्य योजना निर्माणमा जुटेका हुन् । मनसुन भित्रिएपछि पानीजन्य विपत्बाट हुन सक्ने जोखिमको आँकलन गरेर प्रतिकार्य योजना बनाउन थालिएको हो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबहादुर कवारीले प्रदेशभित्र हुनसक्ने सबैखाले विपत् व्यवस्थापन तथा प्रतिकार्यको तयारी अवस्थामा रहन आग्रह गरे ।
‘विपत् कतिबेला कसरी आउँछ, थाहा हुँदैन । तर विपत् आए पनि, नआए पनि हामी पूर्ण तयारी अवस्थामा रहनुपर्छ’– कवारीले भने– ‘मनसुन शुरु भएपछि बाढी, पहिरो, डुबान, कटानका समस्याहरु बढी आउने भएकाले यसबाट हुने मानवीय, भौतिक तथा आर्थिक क्षति कम गर्न सधैं तयारी अवस्थामा रहनुपर्छ ।’ मनसुनको समयमा बाढी पहिरोलगायत पानीजन्य विपत्का कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा २०६८ देखि २०७८ सम्मको अवधिमा भएका विपत्को विश्लेषण गर्दै लुम्बिनीमा मुख्य प्रकोपको रुपमा बाढी, पहिरो, भारी बर्षा र महामारीलाई उल्लेख गरिएको छ । वितेको ११ बर्षको अवधिमा मात्रै तीन सय १३ वटा बाढीका घटनाहरु भएका छन् । जसले गर्दा दुई सय १७ जना मानिसको मृत्यु भएको थियो । ३८ जना घाइते र ९७ जना वेपत्ता भएको प्रतिबेदनमा उल्लेख छ ।
जनशक्ति र सामग्री दुबै अपर्याप्त
पानीजन्य विपत्मा परेकाहरुको खोज तथा उद्धार गर्न लुम्बिनी प्रदेशमा सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको भए पनि ठूलो विपत्को सामना गर्न भने जनशक्ति र सामग्री दुबैको अभाव भने यथावत छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले विपत् न्यूनीकरण, खोज तथा उद्धार गर्न पूर्णरुपमा सामग्रीको व्यवस्थापन गर्न सकेका छैनन् । ‘खोज तथा उद्धारमा प्रयोग हुने सामग्री अभाव छ । भएका सामग्री पनि गुणस्तरीय छैनन् । जसले गर्दा उद्धारको बेलामा जोखिम छ’– नेपाली सेना रणसिंह दल गण भरतपुर दाङका प्रमुख रविन्द्र महर्जनले भने– ‘विपत्को बेलामा कस्तो हुन्छ र कसरी टिम परिचालन गर्नुपर्छ भन्ने गतिलो अनुभव गत असोजमा आइपरेको विपत्बाट गरेका छौं ।’ खोज तथा उद्धारको काममा नेपाली सेना सँगसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरु पनि खटिने गरेका छन् । यसका अतिरिक्त समुदायका युवाहरुलाई समेत प्रशिक्षित गरेर उद्धार कार्यमा जोड्न सकिने देखिन्छ । तर समुदायका नागरिकको क्षमता बढाउनेगरी अभ्यास हुन सकेको छैन ।
जोखिममा रहने वर्गलाई ध्यान दिन आग्रह
बाढी, पहिरो, आगलागीजस्ता विपत्का घटनामा सबैभन्दा जोखिममा बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, शारीरिक तथा बौद्धिक अपांगता भएका व्यक्तिहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष ख्याल गरेर योजना बनाउन आग्रह गरिएको हो । विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य कार्यशालामा मनसुनजन्य विपत् आउनुभन्दा अघि, आउदै गर्दा र आइसकेपछि सरोकारवाला निकाय जिम्मेवार भएर अभियानमा खट्नुपर्नेमा जोड दिइएको छ । विपत् प्रतिकार्य एक्लै सम्भव नहुने भन्दै सबै सरोकार राख्ने निकायको बीचमा प्रभावकारी समन्वयको आवश्यकता देखिएको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव यमबहादुर कुँवरको अध्यक्षता तथा सचिव लालबहादुर कवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युरोपियन युनियनका प्रतिनिधि पीयूष कायस्थ, संयुक्त राष्ट्रसंघ आवासीय संयोजक कार्यालयका प्रतिनिधि पे्रम अवस्थी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सहकोषाध्यक्ष ज्ञानहरि रिजाललगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रविन्द्र केसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया