
कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो।
जेठ १९ गते शुक्रवार दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन्। घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो। उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए।
गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई गोली हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो। सहकारीको आइतबार पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ।
मृतक सहकारी कक्षा–१० मा पढ्दै थिइन्। घटना के, कसरी घटेको हो भन्ने बारेमा बुझ्न प्रहरी त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया