दशरथ घिमिरे

देउखुरी । लमहीमा नाक, कान, घाँटी इएनटी अस्पताल निर्माण गर्न पहल भएको वर्षौं भए पनि अझैसम्म प्रक्रिया शुरु हुन सकेको छैन । नेपाल नेत्रज्योति संघले आँखा अस्पतालसँगै नाक, कान, घाँटीको अस्पताल निर्माण गर्ने विस्तृत योजना निर्माण गरेको थियो । तर आँखा अस्पताल सञ्चालनमा आए पनि नाक, कान, घाँटीको अस्पताल भने निर्माण हुन सकेको छैन ।
लमही नगर विकास समितिले एक विगाह पाँच कट्ठा जग्गा आँखा अस्पताल निर्माणका लागि उपलब्ध गराएको थियो । साथै नाक, कान, घाँटीको अस्पताल बनाउन पाँच कट्ठा जग्गा छुट्याएको भए पनि हाल सो जग्गा घडेरीमा बिक्री गरिएको छ । लमही नगर विकास समितिले जग्गा छुट्याए पनि त्यसमा नाक, कान, घाँटीको अस्पताल बनाउन सकिएन ।
‘जग्गा थियो तर त्यो जग्गा नाक, कान, घाँटीको अस्पतालका लागि प्राप्त हुन सकेन’– नेपाल नेत्रज्योति संघका सदस्य रेशमबहादुर खड्काले भन्नुभयो– ‘जग्गा प्राप्ति नहँुदा विशेषज्ञ अस्पताल बनाउने योजना अधुरै रहेको छ ।’आँखा अस्पतालसँगै रहेको जग्गामा नाक, कान, घाँटीको अस्पताल बनाउने योजना परिकल्पना गरिएको थियो । अहिले लमही आँखा अस्पतालबाट कानको प्राथमिक उपचार सेवा दिइँदै आएको छ । वार्षिक पाँच हजार विरामीले कानको उपचारका लागि सेवा लिन आउने गरेको लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिनुभयो ।
‘आँखासँगै कानको उपचार पनि शुरु गरेका छौं । यहाँ भइरहेको उपचार प्राथमिक हो’– थापाले भन्नुभयो– ‘अब कानसहितको विशेषज्ञ उपचारका लागि अस्पताल आवश्यक छ । अस्पतालका लागि पहल त भइरहेको छ तर जग्गा प्राप्त नहँुदा समस्या भयो ।’
लमही नगर विकास समितिले आफ्नो कार्यकालमा पाँच कट्ठा जग्गा कानको अस्पतालका लागि छुट्याएको तर सो जग्गा पछिल्लो नेतृत्वले उपलब्ध गराउन नसकेको तत्कालीन अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । ‘यहाँ आँखासँगै नाक, कान, घाँटीको उपचार पनि चाहिएको छ । आँखा उपचारको लागि अस्पताल बन्यो’– सुवेदीले भन्नुभयो– ‘तर नाक, कान, घाँटीको अस्पताल बनाउन सकिएन् । जग्गा दिने निर्णय भएको थियो पछि त्यो जग्गा घडेरी बनाएर बिक्री गरिएछ ।’ लमही नगर विकास समितिले खाली जग्गा खोजेर इएनटी अस्पताल बनाउन उपलब्ध गराउन सकिने लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया