पत्रकार आलोक भावुकको पहलमा हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागि सहयोग रकम उठ्दै

 

 

गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ ।

५५ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि गए तर न त रोग पत्ता लाग्यो नत सञ्चो नै भयो। अन्ततः भएभरको सबै पैसा सकियो तर समस्या जस्ताको तस्तै रह्यो।

गढवा गाउँपालिकाका प्रेस संयोजकसमेत रहेका उमानाथ यादव (आलोक भावुक)ले सामाजिक सञ्जालमा पिडित चौधरीको फोटो देखेपछि २०८० बैसाख २८ गते बिहिवार पिडित चौधरीको घरमै पुगेर रोग बारे सोधपुछ गरे । सोधपुछको क्रममा सबै तिर औषधी गराउदा पनि समस्या समाधान नभएको र आर्थिक अभावले अब उपचार गराउन नसकिने परिवारले बताए पछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सहयोगको लागि सबैमा अनुरोध गरे। आलोक भावुक नामक फेसबुकमा हालिएको सानो भिडियो क्लिप अहिले १३ लाख पटक भन्दा बढी हेरिएको छ।

त्यसपछि हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागी स्वदेश तथा विदेशबाट सहयोग रकम उठ्न शुरु भयो । हालसम्म नगद र खातामा गरी ४ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको हल्लु नारायण चौधरीको बचाउ अभियानका समन्वयकर्ता भावुकले बताए ।

पत्रकार भावुकले चौधरीको घरमै पुगेर सानो भिडियोसहितको स्टाटस लेखेपछि सहयोग गर्नेहरुको हात अगाडी बढ्दै गयो। आर्थिक संकलन सुरु भए लगत्तै चौधरीको जिब्रो उपचारका लागि काठमाडौँ लगिएको छ ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा अहिले बिरामी चौधरीको उपचार भइरहेको र मंगलबार जिब्रोको सफल शल्यक्रिया समेत भएको पत्रकार भावुकले जानकारी दिएका छन् ।

नयाँ प्रकारको रोग भएको हुनाले यो कस्तो प्रकारको रोग हो भनेर किटान भएको छैन । अस्पतालले रोग पहिचानको प्रक्रिया जारी राखेको छ । उपचारमा कति पैसा लाग्छ । एकीन भएको छैन । तैपनि अप्रेशन गर्न परेको खण्डमा धेरै पैसा लाग्ने र अहिले उठेको रकमले नपुग्ने हुनाले सहयोगी, मनकारी व्यक्तिहरूलाइ सहयोग गरेर चौधरीको जीवन बचाउन सहयोग गर्नुहुन भावुकले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया