अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको तिरतिरे वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेर मङ्गलवार सार्वजनिक गरेको हो ।

 

जंगलमा लागेको आगोले पदम बेल्वासे र शिव बेल्वासेको घरमा समेत आगो लागेको थियो भने ४ जनाको मृत्यसमेत भएको थियो । मत्यु हुनेमा पदम बेल्वासे, पिताम्बर बेल्वासे, घनश्याम बेल्वासे र माधव बेल्वासे रहेका छन् ।

जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यो नियममा छ महिनादेखी दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया